काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ ओटा घर जलेर खरानी भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले दिएको जानकारी अनुसार आगलागीबाट घरभित्र रहेका जिन्सी सामान, खाद्यान्न र नगदसहित करिब ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
आगलागीमा परेर स्थानीयका सबै घर खरानी भएपछि अहिले पीडित परिवारको बिचल्ली भएको छ। घटनालगत्तै राहत र उद्धारको कार्य सुरु गरिएको छ। प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितहरूलाई तत्काल आवश्यक पर्ने राहत सामग्री वितरण गरेका छन्।
यसैबीच, प्रतिनिधिसभा सदस्य विक्रम खनालले आगलागीबाट पीडित भएका परिवारलाई थप राहत र सहयोग उपलब्ध गराउन आफू सक्रियताका साथ लागिरहेको जानकारी दिएका छन्। स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले क्षतिको विस्तृत विवरण संकलन गर्दै पीडितहरूलाई पुनःस्थापनाका लागि पहल गर्ने बताएका छन्।