लोकप्रियतावाद र अराजकतावाद केही समयका पाहुनामात्र हुन्: शंकर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
1.3k
Shares
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त 'जनताको बहुदलीय जनवाद' (जबज) का सामु हाल नेपाली राजनीतिमा देखिएको लोकप्रियतावाद, अराजकतावाद र अवसरवादका चुनौतीहरू केही समयका लागि मात्र आएका पाहुना जस्तै भएको टिप्पणी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत पार्टीका संस्थापक नेताहरूको स्मरण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
पोखरेलले जबजको समृद्ध विचार र दर्शनका अगाडि आधुनिक 'अल्गोरिदम' ले सिर्जना गरेका राजनीतिक चुनौतीहरू टिक्न नसक्ने दाबी गरे। उनले कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजकै मार्गदर्शनमा समाजवादको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढ्न सबै कार्यकर्तालाई संकल्प गर्न आह्वान समेत गरेका छन्।
यस क्रममा महासचिव पोखरेलले नेकपाका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको ऐतिहासिक योगदानको चर्चा गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरे। उनले एमाले केन्द्रीय कार्यालयमा आयोजित ७७औँ स्थापना दिवसको विशेष कार्यक्रममा उपत्यकाभित्रका नेता-कार्यकर्तालाई सहभागी हुन र उपत्यका बाहिरका हकमा सम्बन्धित कमिटीहरूले आयोजना गरेका कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।