arrow

इरानसँगको युद्धविराम लम्ब्याउन ट्रम्प भए सहमत

नाकाबन्दी जारी रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
trump-always101.jpg

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामलाई अगाडि बढाउने घोषणा गरेका छन्। पाकिस्तानको अपिलपछि आफूले यो निर्णय लिएको उनले बताएका छन् । तर युद्धविराम कति समयका लागि थपिएको हो भन्नेबारे भने उनले केही खुलाएका छैनन्।

ट्रम्पका अनुसार हाल इरानको नेतृत्व र सरकारभित्र एकमतको अभाव देखिएको छ। इरानमाथि  केही समय आक्रमण नगर्न उनीहरुले आग्रह गरेका थिए। इरानलाई सबै पक्षको साझा प्रस्ताव तयार पार्ने अवसर मिलोस् भन्ने हेतुले यस्तो अनुरोध गरेको ट्रम्पले जानकारी दिए।

"पाकिस्तानको अपिललाई स्वीकार गर्दै मैले अमेरिकी सेनालाई हालका लागि आक्रमण रोक्न आदेश दिएको छु," ट्रम्पले भने। यद्यपि, उनले अमेरिकी सेनालाई पूर्ण रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। इरानमाथि दबाब कायम राख्नका लागि गरिएको नाकाबन्दी (ब्लकेड) भने जारी रहने उनले प्रष्ट पारेका छन्।

ट्रम्पले इरानले आफ्नो तर्फबाट ठोस र एकीकृत प्रस्ताव नपठाएसम्म र वार्ताको नतिजा जे सुकै निस्किए पनि संवाद प्रक्रिया पूरा नभएसम्म यो युद्धविराम जारी रहने स्पष्ट पारेका छन्। 

यता लामो समयदेखि विभिन्न मुलुकहरूमा सैन्य हस्तक्षेप गर्दै आएको अमेरिका अहिले आफैँमा थकित छ। अफगानिस्तान र इराक जस्ता लामो समय चलेका युद्धहरूले अमेरिकी अर्थतन्त्र र जनशक्तिमा ठूलो क्षति पुर्‍याएको छ। त्यसैले, अमेरिकी जनता अब अर्को नयाँ र अनिश्चित युद्धको भार बोक्ने पक्षमा छैनन्।

अमेरिकाभित्रै पनि इरानसँगको युद्धलाई लिएर ठूलो विरोध भइरहेको छ। विपक्षी दल मात्र नभई ट्रम्पकै कतिपय समर्थकहरूले पनि "अमेरिका फस्ट"को नारा बिर्सेर विदेशी युद्धमा पैसा खर्च गरेकोमा प्रश्न उठाइरहेका छन्। सडक प्रदर्शन र सामाजिक सञ्जालमा बढ्दो विरोधले ह्वाइट हाउसलाई दबाबमा पारेको छ।

आफूलाई 'शान्ति स्थापना गर्ने' र 'अमेरिकी सेनालाई घर फर्काउने' नेताको रूपमा प्रस्तुत गर्न रुचाउने ट्रम्पका लागि इरानसँगको युद्ध एउटा ठूलो राजनीतिक जोखिम बनेको छ। यदि यो युद्ध लम्बियो भने उनको छवि एक 'युद्धपिपासु' नेताको रूपमा बन्ने डर उनलाई छ, जसले आगामी निर्वाचनमा उनलाई ठूलो घाटा पुर्‍याउन सक्छ।

यस्तो अवस्थामा पाकिस्तानको मध्यस्थता ट्रम्पका लागि एउटा "फेस सेभिङ" (इज्जत जोगाउने) अवसर बनेको छ। पाकिस्तानको आग्रहलाई मानिदिएर उनले आफूलाई एक लचिलो र शान्तिप्रिय नेता देखाउन खोजेका छन्, जसले गर्दा उनले युद्धबाट सम्मानजनक रूपमा पछि हट्ने बाटो पाउन सक्छन्।

तसर्थ, यो युद्धविराम केवल इरानको प्रस्ताव पर्खिनका लागि मात्र नभई ट्रम्पले आफ्नो गुम्दै गएको लोकप्रियता जोगाउन र अमेरिकाभित्रको बढ्दो असन्तोषलाई शान्त पार्न चालेको एक रणनीतिक कदम पनि हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ