यी हुन् वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]
सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त, धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस समिति गठन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
975
Shares
काठमाडौँ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दिएको जानकारीअनुसार समितिको सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय गरिएको छ।
यसका साथै सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसका लागि एक समिति पनि गठन गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित उक्त समितिमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र काठमाडौंका भुवनकुमार दाहाल सदस्य रहेका छन्।
मन्त्रिपरिषद्ले विभिन्न महत्त्वपूर्ण कानुनी सुधारका लागि तीनवटा विधेयकहरूलाई संघीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ। जसमा नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयकहरू समावेश छन्।
सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार यी विधेयकहरूले निर्वाचन प्रक्रिया र विशेष सेवाका कानुनी प्रावधानहरूलाई थप व्यवस्थित र समयानुकूल बनाउने लक्ष्य राखेका छन्। समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि नयाँ नेतृत्वको नियुक्तिसँगै पीडितहरूको बचत फिर्ता र सम्पत्ति व्यवस्थापनको कामले गति लिने अपेक्षा गरिएको छ।