नेपाली बजारमा केराको हाहाकार, अभावसँगै मूल्यमा भारी वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
903
Shares
काठमाडौँ । नेपाली बजारमा हाल केराको चरम अभाव देखिएको छ। भारतीय नाकाबाट अवैध रूपमा भित्रिने केरालाई व्यवसायीहरूले नै बहिष्कार गरेपछि बजारमा यस्तो अवस्था सिर्जना भएको हो। आन्तरिक उत्पादन निकै कमजोर रहेको र अवैध रूपमा आउने केरा जनस्वास्थ्यका लागि हानिकारक भएको भन्दै व्यापारीहरूले बिक्रीमा रोक लगाएका हुन्।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्तिमा आएको संकुचनका कारण भएको बताए। केही महिनाअघिसम्म भारतबाट ठूलो मात्रामा अवैध केरा भित्रिँदा बजारमा अभाव नदेखिएको भए पनि संघकै पहलमा त्यस्ता केराको बिक्री वितरणमा कडाइ गरेपछि आपूर्ति एकाएक घटेको उनले जानकारी दिए। नेपालको आफ्नै उत्पादन नगण्य भएको र भारतीय चोरी पैठारीका केरा रोकिएपछि बजारमा अभाव र मूल्यवृद्धि देखिएको उनको भनाइ छ।
अध्यक्ष बानियाँका अनुसार गुणस्तरीय केराको अभाव हुँदा कतिपय स्थानमा उपभोक्ताले प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ। विशेषगरी 'फाइभ स्टार' होटल र रेस्टुरेन्टहरूले गुणस्तरीय केराका लागि जति पनि मूल्य तिर्न तयार हुँदा बजार अझ महँगिएको उनले स्पष्ट पारे। ग्रेडिङ, प्याकेजिङ र गुणस्तरको अभावका कारण नेपाली उत्पादनले माग धान्न नसकेको उनले स्वीकार गरे।
केरा किसानहरूले आफूहरूले ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमै केरा बजार पठाएको दाबी गर्दै बिचौलियाका कारण मूल्य बढेको आरोप लगाएका छन्। तर, अध्यक्ष बानियाँले भने यो आरोप अस्वीकार गर्दै नेपाली केराको गुणस्तर कमजोर हुँदा उपभोक्ताले नकिन्ने र खुद्रा व्यापारी मारमा पर्ने गरेको बताए। उनले किसानहरूलाई उत्पादनको ग्रेडिङ र प्याकेजिङमा ध्यान दिन सुझाव दिए।
सरकारले केरामा ८० प्रतिशत आत्मनिर्भर भएको दाबी गरे पनि वास्तविक उत्पादन ३० प्रतिशतको हाराहारीमा मात्र रहेको बानियाँले उल्लेख गरे। उनले सरकारले आयात नियन्त्रणसँगै स्वदेशी उत्पादन बढाउने ठोस नीति लिनुपर्नेमा जोड दिए।
यस्तै, राज्यले किसान र व्यवसायीबीच समन्वय गराउनुको सट्टा फाटो ल्याएको र व्यवसायीका समस्या सुन्न उदासीन रहेको उनले गुनासो गरे। कृषि मन्त्रीसँग भेटका लागि समय माग गर्दा समेत उपलब्ध नभएको भन्दै उनले सरकारी कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।