काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले लामो समयसम्म विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। केन्द्रले बक्यौता रकम असुलीमा कडाइ गर्दै यी ग्राहकहरूबाट रु १ करोड ४ लाख १७ हजार ३८१ उठाउन बाँकी रहेको जनाएको छ।
केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार ६ महिनाभन्दा बढी समयसम्म महसुल नबुझाउने ग्राहकहरूको लाइन काट्ने र उनीहरूलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको हो। चालु आर्थिक वर्षमा मात्रै केन्द्रले १ हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटेको उनले बताए।
हाल ७४ हजार ८७६ ग्राहक रहेको भरतपुर वितरण केन्द्रले कूल रु ४९ करोड ४ लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको जानकारी दिएको छ। बक्यौता असुलीलाई प्रभावकारी बनाउन कार्यालयले नियमित रूपमा लाइन काट्ने र सेवाग्राहीलाई पूर्व-सूचना दिने जस्ता कार्यहरू गरिरहेको विष्टले बताए। कर्मचारीहरू बक्यौता उठाउनका लागि अहिले फिल्डमा सक्रिय रूपमा खटिरहेका छन्।