arrow

संघीय निर्णय अस्वीकार: कनकासुन्दरी गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
kankasundari.jpg

काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुईवटा महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै नयाँ नियम लागू गरेको छ। गाउँपालिकाले संघीय सरकारले तोकेको आइतबारको सार्वजनिक बिदा नमानी वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो।

कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाका अनुसार आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरूमा आइतबार बिदा नगर्ने र निर्धारित समयभन्दा अगावै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। संघीय सरकारले भने वैशाख १५ देखि भर्ना अभियान सुरु गरी वैशाख २१ गतेबाट मात्रै पठनपाठन सुरु गर्ने र हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

हिमाली जिल्लाको भौगोलिक र मौसमी प्रतिकूलताका कारण संघीय निर्णय अव्यवहारिक भएको गाउँपालिकाको निष्कर्ष छ। जुम्लाका विद्यालयहरूमा पुस र माघ महिनामा गरी कुल ४५ दिन हिउँदे बिदा हुने भएकाले संघीय सरकारको बिदा नीतिले निर्धारित पाठ्यक्रम पूरा गर्न कठिन हुने गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई सुनिश्चित गर्न स्थानीय आवश्यकता अनुसार यो निर्णय लिइएको सूचनामा उल्लेख छ।

जिल्लाका आठ स्थानीय तहमध्ये संघीय सरकारको निर्णयविपरीत आफ्नै शैक्षिक क्यालेन्डर लागू गर्ने कनकासुन्दरी पहिलो पालिका बनेको छ। गाउँपालिकाले यस कदमलाई संविधान प्रदत्त स्थानीय सरकारको स्वायत्त अधिकारको प्रयोगका रूपमा व्याख्या गरेको छ। यस निर्णयले हिमाली क्षेत्रको शिक्षा क्षेत्रमा स्थानीय सरकारको सक्रियता र संघीय नीतिसँगको तादात्म्यमा देखिएको चुनौतीलाई स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ