बिपी राजमार्ग अवरुद्ध: वर्षाले डाइभर्सन बगाएपछि सास्ती, यात्रुहरूलाई वैकल्पिक बाटो रोज्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
730
Shares
काठमाडौँ। अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। रोशी खोलामा पानीको बहाव बढेसँगै सडकका विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी 'डाइभर्सन' बगाएपछि यातायात ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार वर्षाले सडक अवरुद्ध भएलगत्तै मर्मत कार्य सुरु गरिएको छ। यद्यपि खोलाको बहाव अझै नघटेकाले सडक सुचारु गर्न केही समय लाग्ने देखिएको छ। गत वर्षको विनाशकारी बाढीपहिरोले यस खण्डको १८ किलोमिटर सडक पूर्ण रूपमा बगाएपछि अस्थायी डाइभर्सनका भरमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट पूर्व जाने सवारीसाधनलाई धुलिखेलको काभ्रेभञ्ज्याङमा र पूर्वबाट आउने सवारीलाई सिन्धुलीको नेपालथोकमा रोकिएको छ। प्रहरीले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि उक्त खण्डमा यात्रा नगर्न समेत प्रहरीको अपिल छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार, गत असोजको बाढीले क्षतिग्रस्त बनाएको चौकीडाँडा–नेपालथोक सडकखण्डमा हाल स्थायी सडक निर्माणको काम भइरहेको छ। स्थायी संरचना तयार नभएसम्म वर्षायाममा पटक-पटक यस्ता समस्या दोहोरिने देखिएकाले यात्रुहरूले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।