arrow

समयमै भिटामिन ए र जुकाको औषधि नपुग्दा राष्ट्रिय अभियान प्रभावित

प्राविधिक समस्या मात्र नभइ सार्वजनिक स्वास्थ्य आपूर्ति प्रणालीको गम्भीर कमजोरीको संकेत

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८३ वैशाख ५ शनिबार
humla-vitamin-program-83.jpeg

हुम्ला । हुम्ला जिल्लामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण अभियान प्रभावित हुनु केवल प्राविधिक समस्या मात्र होइन, यो हाम्रो सार्वजनिक स्वास्थ्य आपूर्ति प्रणालीको गम्भीर कमजोरीको संकेत हो। पाँच वर्षमुनिका बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील कार्यक्रममा समेत समयमै औषधि पुग्न नसक्नु चिन्ताजनक विषय हो।

समयमै भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि नपुग्दा राष्ट्रिय खोप तथा पोषणसम्बन्धी अभियान प्रभावित हुने अवस्था सिर्जना भएको छ । पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी सञ्चालन हुने यस महत्वपूर्ण अभियानमा औषधि आपूर्तिमा भएको ढिलाइका कारण सेवा प्रवाह अवरुद्ध भएको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरबीर शाहीले बताए ।

जिल्लाभर सञ्चालन भइरहेको अभियानका क्रममा आवश्यक औषधि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि समयमै उपलब्ध नहुँदा बालबालिकाले पाउनुपर्ने आधारभूत पोषण तथा स्वास्थ्य सेवा अवरुद्ध भएको र दुर्गम बस्तीहरूमा औषधि नपुग्दा समस्या झन् गम्भीर बनेको उल्लेख गर्दै यसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने जोखिम बढाएको उनले बताए।

दुर्गम भौगोलिक अवस्था, ढुवानी चुनौती र व्यवस्थापन कमजोरीलाई कारण देखाइए पनि यस्तो समस्या बारम्बार दोहोरिनु नीतिगत सुधारको अभाव तथा अभियान सञ्चालनको मिति तय भइसकेपछि पनि आवश्यक औषधि अन्तिम समयमा मात्र पुग्नुले पूर्वतयारी र समन्वयमा गम्भीर कमी रहेको  जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए । 

उनले भने,'स्वास्थ्य सेवा कार्यालयले देखाएको असहजता र कर्णाली प्रदेश आपूर्ति केन्द्रको ढिलाइबीचको समन्वय अभावले अन्ततः प्रभावित भएका छन्—हुम्लाका बालबालिका।' पोषण र रोग प्रतिरोधात्मक क्षमताको आधार निर्माण गर्ने उमेरमै सेवा अवरुद्ध हुनु दीर्घकालीन स्वास्थ्य जोखिमसँग जोडिन्छ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार कर्णाली प्रदेश औषधि आपूर्ति केन्द्रबाट ढिलाइका साथ औषधि आपूर्ति भएपछि समस्या उत्पन्न भएको हो । 

राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत यही वैशाख ६ र ७ गते देशभर एकैसाथ सञ्चालन हुने भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानका लागि कम्तीमा एक हप्ता अघि नै सम्बन्धित स्वास्थ्य संस्थामा औषधि पुगिसक्नुपर्ने व्यवस्था भए पनि यस पटक वैशाख ४ गतेमात्र कर्णाली प्रदेश औषधि आपूर्ति केन्द्रले औषधि उपलब्ध गराएपछि औषधि ढुवानीका क्रममा रहेकाले जिल्लाका सबै स्थानीय तहमा समयमै वितरण गर्न नसकिएको उनले बताए ।

डा. तिवारीले दुर्गम भौगोलिक अवस्थाका कारण ढुवानी व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको उल्लेख गर्दै भने, 'समयमै आपूर्ति नहुँदा सबै स्वास्थ्य संस्थामा औषधि पुर्‍याउन कठिन भयो, जसका कारण अभियान नै प्रभावित भयो ।'

अब आपूर्ति व्यवस्थापनलाई अझ छिटो, प्रभावकारी र योजनाबद्ध बनाउने प्रयास भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ। सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक औषधि यथाशीघ्र उपलब्ध गराउने तयारी भइरहेको पनि कार्यालयले स्पष्ट पारेको छ। सबै स्वास्थ्य संस्थामा औषधि आपूर्ति तथा ढुवानी कार्य पूरा भएपछि मात्र जिल्लामा पुनः अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले स्पष्ट पारेका छन्।

दुर्गम भौगोलिक अवस्थालाई मात्र दोष देखाएर स्वास्थ्य सेवा अवरुद्ध हुनु दीर्घकालीन समाधान होइन। हरेक वर्ष सञ्चालन हुने यस्ता राष्ट्रिय अभियानका लागि आवश्यक पूर्वतयारी, समयमै आपूर्ति र कडाइका साथ अनुगमन प्रणाली नभएसम्म समस्या दोहोरिने निश्चित छ। 

बालबालिकाको पोषण र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील कार्यक्रमहरू ढिलाइ र कमजोर कार्यान्वयनको सिकार बनेको भन्दै नागरिक समाजले राज्य संयन्त्रको गम्भीर असफलता भएको आरोप लगाएको छ।  

यस्ता अत्यावश्यक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नुले बालबालिकाको आधारभूत स्वास्थ्य र पोषणमा प्रत्यक्ष असर पार्ने भएकाले तत्काल आवश्यक सुधार गर्न समेत माग गरेको छ।

अब आवश्यक छ—कागजी योजनाभन्दा कार्यान्वयनमा आधारित आपूर्ति प्रणाली, दुर्गम जिल्लाका लागि विशेष ढुवानी रणनीति, र उत्तरदायित्व सुनिश्चित गर्ने स्पष्ट संयन्त्र। नत्र यस्ता घटनाले बारम्बार बालबालिकाको अधिकार मात्र होइन, राज्यप्रतिको विश्वास पनि कमजोर बनाउँदै लैजानेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ