आत्मनिर्भर कल्याणकारी कार्यतर्फ नेपाली सेनाको जोड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ५ शनिबार
797
Shares
काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले कल्याणकारी कार्यलाई आयमूलक र आत्मनिर्भर बनाइनुपर्नेमा जोड दिएका छन् ।
रामेछापमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले कल्याणकारी कार्यलाई केवल वितरणमुखी मात्र बनाइन नहुने बताए ।
उनले सैनिक व्यक्ति सेवामा रहँदामात्र नभई अवकाशपछि पनि समाजमा जिम्मेवार, अनुशासित र मर्यादित नागरिकका रूपमा प्रस्तुत हुन आवश्यक रहेको उल्लेख गरे ।
केसीले सबैलाई स्थानीय स्तरमै उत्पादनशील, सिर्जनशील र उद्यमशील बन्न आग्रह गरे ।
उनले राष्ट्रिय एकीकरणको इतिहासदेखि नै नेपाली सेनाले अतुलनीय योगदान पुर्याउँदै आएको बताए ।
साथै वर्तमान र भविष्यका चुनौती सामना गर्नसक्ने सक्षम संस्थाका रूपमा सेनालाई थप सुदृढ गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताए।
उनले भूतपूर्व सैनिकहरूलाई स्थानीय स्तरमै उत्पादनशील र उद्यमशील बन्न आग्रह गर्दै संस्थागत प्रयास, सुझाव, समन्वय र सहकार्यबाट मात्र कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त हुने बताए। उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्दै व्यवहारिक र कार्यान्वयनयोग्य सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
केसीले अनुशासन, निःस्वार्थ सेवा र सेवाभावको परम्परा पुस्तान्तरण हुनु नै राष्ट्र र नेपाली सेनाका लागि गौरवको विषय भएको उल्लेख गर्दै सन्ततिलाई सैनिक सेवामा प्रवेश गर्न प्रेरित गर्ने अभिभावकप्रति धन्यवाद व्यक्त गरे ।
उनका अनुसार नेपाली सेनाले देशको सार्वभौमिकताको रक्षा, आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
उनले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले देखाएको पेशागत दक्षता, निष्पक्षता र व्यावसायिकताको समेत प्रशंसा गरे ।