सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनामा जिल्लाभर एक सय ३२ ओटा आपराधिक घटना दर्ता भएको जनाएको छ ।
सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् ।
यसैगरी, बैंकिङ कसुर, जुवातास, ठगी र हातहतियारसम्बन्धी ३५ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
अनुसन्धान र कारबाहीका क्रममा सोही अवधिमा ९६ जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले १५ ओटा पुराना मुद्दा फछ्र्योट गरेको जनाएको छ ।
फैसला कार्यान्वयनका क्रममा पाँच जना पक्राउ परेका छन् । उनीहरूबाट आठ वर्ष चार महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी दर्ता भएका छन् । हराएका ३२ जनामध्ये १६ जना फेला पारिएको र बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ ओटा मिलापत्र गरिएको छ । लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै आठ जनालाई पक्राउ गरेको छ ।
यसैबीच, चैत महिनामा १८ जनाले जिल्लामा आत्माहत्या गरेका छन् । उक्त तथ्यांकले चिन्ता बढाएको छ । यस्तो घटना १६-२५ र २६-३५ वर्ष उमेर समूहमा बढी देखिएको छ ।