पूर्णबहादुरको मुद्धालाई अदालतले लगायो पूर्णविराम, गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
1.8k
Shares
तस्बिर : फाइल
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वलाई आधिकारिकतालाई सदर गरेको छ । यसअघि विशेष महाधिवेशन गरेर नयाँ कार्यसमितिमार्फत नेतृत्वमा आएको गगन थापा समूहलाई निर्वाचन आयोग आधिकारिकता दिँदै रूख चिन्ह प्रदान गरेको थियो । सोही निर्णयलाई सर्वोच्चले शुक्रबार सदर गरेको हो ।
योसँगै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको मुद्धालाई सर्वोच्चले पूर्णविराम लगाएको छ ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त फैसला गरेको हो । यो फैसलासँगै विशेष महाधिवेशनलाई मान्यता नदिन पूर्व सभापति शेरबहादुर देउवा समूहले गरेको माग पनि अस्वीकृत भएको छ ।
गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह सर्वोच्च पुगेको थियो । सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज भएको जनाएको छ । शुक्रबार गगन थापाको तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य लगायतका अधिवक्ताहरूले बहस गरेका थिए ।
देउवा समूहबाट अधिवक्ताहरू रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दी लगायतले बहस गरेका थिए ।
गत माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भएको सुनुवाइले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग सहितका विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
यो आदेशपछि गगन थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि टिकट बाँडेका थिए । देउवा पक्षका नेताहरूलेसमेत गगन थापाको हातबाटै टिकट लिएका थिए ।
निर्वाचन सकिएपछि गत चैत २१ का लागि पेसी तोकिएकामा उक्त पेसी सरेर बिहीबारका लागि तय भएको थियो । बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार सुनुवाइ गरी अदालतले फैसला गरेको हो ।