एमालेका नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न विद्यादेवीको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
758
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको राष्ट्रिय एकता, सार्वभौमसत्ता र लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेको भन्दै नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी छन्। बिहीबार काठमाडौँमा 'भूमिगत महिला' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई लिएर चिन्ता व्यक्त गरिन्।
भण्डारीले विशेष गरी अनुभव नभएका नयाँ राजनीतिक दलहरूको उदयले मुलुकको भविष्यप्रति थुप्रै आशंका र प्रश्नहरू खडा गरेको तर्क गरिन्। अनुभवी र नयाँ पात्रबीचको भिन्नता उल्लेख गर्दै उनले भनिन्, "अनुभव नभएका नयाँ पात्रहरूको आगमनले हाम्रो राष्ट्रिय स्वाभिमान, जनजीविका र प्राप्त मौलिक हकहरूको रक्षा कसरी होला भन्ने गम्भीर प्रश्न उठेको छ।"
निर्वाचनको परिणामले पुराना र ठूला राजनीतिक दलहरूलाई सोचनीय अवस्थामा पुर्याएको चर्चा गर्दै उनले एमाले जस्तो ठूलो पार्टीका कार्यकर्ताहरूले अब झन् सक्रियतापूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बेला आएको बताइन्। प्राप्त उपलब्धिहरू र लोकतन्त्र नै संकटमा पर्ने हो कि भन्ने डर उत्पन्न भएकाले राष्ट्रिय एकता जोगाउन राजनीतिक दलहरू सावधानीपूर्वक र जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो।
पूर्वराष्ट्रपति भण्डारीका अनुसार अहिलेको विशेष परिस्थितिमा देश र आन्दोलनले नै एमाले पंक्तिको सक्रियता खोजेकाले आपसी एकता कायम गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता छ। विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनले पुराना राजनीतिक दलहरूलाई आफ्ना गतिविधि सावधानीपूर्वक अघि बढाउनुपर्ने अवस्थामा पुर्याएको उनले बताइन्।