समानुपातिक सांसदहरूसँग प्रधानमन्त्री साहले के भने ?
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
689
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले समानुपातिक सांसदहरूलाई कुनै एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका समुदायको सच्चा पहरेदार बन्न आह्वान गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित विशेष छलफलमा उनले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र सम्बन्धित समुदायबीचको महत्वपूर्ण सेतुका रूपमा व्याख्या गरे।
सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले आफ्नो क्लस्टरका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउन र त्यसपछि राष्ट्रिय कानुन निर्माण तथा समग्र देशको विकासमा केन्द्रित हुन निर्देशन दिए।
उनले प्रत्यक्ष निर्वाचित सांसदहरू एउटा निश्चित भूगोलमा बाँधिएका हुने भए पनि समानुपातिक सांसदहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र भएको उल्लेख गरे।
प्रधानमन्त्री साहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै समस्या समाधानका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिए।
छलफलमा उठेका तात्कालिक विषयहरूमा नियमित फलो-अप गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि डिजिटल माध्यमबाट आफू सधैँ खुला रहने उनले बताए।