काठमाडौँ । बेलायती अर्थमन्त्री रेचेल रिभ्सले इरानसँगको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेकी छन्। उनले ट्रम्पको युद्ध गर्ने निर्णयलाई 'मूर्खतापूर्ण' भन्दै यसले बेलायतको अर्थतन्त्रलाई थप चुनौतीपूर्ण मोडमा पुर्याएको बताएकी छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुन वासिङ्टन जानुअघि एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा रिभ्सले युद्धको आर्थिक प्रभावबारे गम्भीर चिन्ता व्यक्त गरिन्। उनले अमेरिका विना कुनै स्पष्ट उद्देश्य र योजना यस युद्धमा होमिएको भन्दै निराशा व्यक्त गरिन्।
"यो युद्ध हामीले चाहेको होइन, तर यसको नकारात्मक असर बेलायत, अमेरिका र विश्वभरका परिवारहरूले भोग्नुपरिरहेको छ," उनले भनिन्। इरानी शासनको समर्थन नगर्ने प्रस्ट पार्दै उनले युद्धबाट बाहिर निस्कने कुनै ठोस योजना विना आक्रमण सुरु गर्नु गलत भएको तर्क गरिन्।
सन् २०२६ को फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो युद्धले मध्यपूर्वको ऊर्जा आपूर्ति मार्ग, विशेष गरी 'स्ट्रेट अफ हर्मुज' मा ठूलो अवरोध सिर्जना गरेको छ।
यसैका कारण विश्वभर इन्धनको मूल्य आकासिएको छ भने मुद्रास्फीति नियन्त्रण गर्न बेलायती सरकारलाई सकस परिरहेको छ। तथ्याङ्कअनुसार बेलायतमा पेट्रोलको मूल्य १९ प्रतिशत र डिजेलको मूल्य ३४ प्रतिशतले वृद्धि भइसकेको छ।
बेलायतका प्रधानमन्त्री किर स्टार्मर र स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले पनि ट्रम्पको आक्रामक भाषा र इरानी सभ्यता नष्ट गर्ने जस्ता धम्कीपूर्ण बयानको आलोचना गरेका छन्। उनीहरूले युद्धको साटो कूटनीतिक समाधान र संयुक्त राष्ट्रसङ्घको शान्तिपूर्ण वार्ता प्रयासमा जोड दिएका छन्। अर्थमन्त्री रिभ्सले अब हुने विश्वव्यापी नेताहरूको बैठकमा ऊर्जा सुरक्षा र समन्वित आर्थिक कदमका लागि प्रस्ताव लैजाने तयारी गरेकी छन्। यद्यपि, प्रमुख सहयोगी राष्ट्र अमेरिकाका राष्ट्रपतिको खुलेरै विरोध गर्दा बेलायतको कूटनीतिक र आर्थिक सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्नेबारे चासोका साथ हेरिएको छ।