arrow

आजदेखि देशभर आर्थिक गणना, समृद्धिको आधार तय गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
Statistics_Bureau_tathyanka.jpg

काठमाडौँ । मुलुकको आर्थिक अवस्थाको यथार्थ चित्र उतार्ने उद्देश्यका साथ आजदेखि देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना २०८३ औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस महत्त्वपूर्ण कार्यका लागि करिब पाँच हजार गणक र सुपरीवेक्षकहरू आवश्यक तयारीका साथ आ–आफ्नो कार्यक्षेत्रमा पुगिसकेका छन्। 

आगामी असारको पहिलो साताभित्र स्थलगत तथ्याङ्क सङ्कलनको काम सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ भने गणनालाई व्यवस्थित बनाउन देशभर ७७ जिल्ला र थप सात गरी कुल ८४ वटा कार्यालयहरू स्थापना गरिएका छन्।

यस गणनाका क्रममा औद्योगिक एवं आर्थिक क्षेत्रसँग सम्बन्धित १८ वटा विभिन्न विधाको आधारभूत विवरण सङ्कलन गरिनेछ। जसमा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको सङ्ख्या, तिनको प्रकार, लगानी, रोजगारीको अवस्था, उत्पादन र सेवा प्रवाह जस्ता पक्षहरू समेटिने छन्। अर्थ मन्त्रालयले यो गणना मुलुकको आगामी आर्थिक नीति र योजना निर्माणका लागि मेरुदण्ड हुने भएकाले दर्ता भएका वा नभएका साना–ठूला व्यापारिक प्रतिष्ठान, कलकारखाना, शिक्षण संस्था, स्वास्थ्य संस्था र गैरसरकारी क्षेत्रलाई सही विवरण उपलब्ध गराएर सहयोग गर्न आह्वान गरेको छ।

आर्थिक गणनाको पूर्वतयारीका कामहरू गत फागुनमै सम्पन्न भइसकेका थिए भने स्थापना गरिएका गणना कार्यालयहरू आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्। यसअघि विसं २०७५ मा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणनाले देशभर नौ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो। आठ वर्षको अन्तरालमा हुन लागेको यो दोस्रो गणनाले पछिल्लो समयमा मुलुकको आर्थिक संरचनामा आएको परिवर्तन र विकासको गतिलाई स्पष्ट रूपमा पहिचान गर्ने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ