नारायणगढ–बुटवल सडक खण्डको ढिलासुस्तीप्रति गृहमन्त्रीको असन्तुष्टि
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
657
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको नारायणगढ–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै चिनियाँ निर्माण कम्पनीको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै उनले आयोजनाको सुस्त गतिले सर्वसाधारणको जनजीवन कष्टकर बनेको बताए। अनुगमनका क्रममा मन्त्री गुरुङले सडकको दुरावस्थाका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र सडक दुर्घटनाको जोखिम समेत बढेको भन्दै यस्तो ढिलासुस्ती अब स्वीकार्य नहुने स्पष्ट पारे।
गृहमन्त्रीले सम्बन्धित निकाय र निर्माण कम्पनीलाई जिम्मेवारीपूर्वक तथा तीव्र गतिमा काम अगाडि बढाउन कडा निर्देशन दिए। नागरिकको सुरक्षा र सहज यात्रा सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उनले निर्माण कार्यमा कुनै पनि बहानामा लापरबाही नगर्न सचेत गराए। सडक निर्माणलाई चाँडोभन्दा चाँडो गुणस्तरीय ढङ्गले सम्पन्न गरी आवागमन सहज बनाउनु निर्माण कम्पनीको मुख्य दायित्व भएको उनको भनाइ थियो।
गृहमन्त्रीको कडा निर्देशन र ताकेतापछि ठेक्का पाएको चिनियाँ कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्यलाई थप जनशक्ति र स्रोत परिचालन गरी तीव्रता दिने र तोकिएको समयसीमाभित्रै काम सक्ने आश्वासन दिएका छन्। यसअघि पटक–पटक म्याद थपिँदा पनि सडकको अवस्था नसुध्रिएका कारण मन्त्रीको यसपटकको स्थलगत अनुगमन र निर्देशनलाई स्थानीयवासीले महत्त्वका साथ हेरेका छन्