काठमाडौँ । नयाँ वर्षको पहिलो दिन आज बिहान झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुईवटा उद्योगमा आगलागी भएको छ। बिहान करिब ४:१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’ मा एकैसाथ आगो सुरु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आगलागीबाट दुवै उद्योगमा ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ।
आगलागीमा परेर उद्योगका कच्चा पदार्थ, तयारी अवस्थामा रहेका सामग्रीहरू र महत्वपूर्ण मेसिनरी सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रहरीको प्रारम्भिक अनुमानअनुसार यो आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको जनाइएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोड र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएका दमकलहरूको सहयोगमा केही समयअघि मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। आगलागी कसरी सुरु भयो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन र प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको बताएको छ।