नाकाबन्दी गरिएको क्षेत्र नजिक आउने युद्धक जहाज ध्वस्त पार्ने ट्रम्पको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
1.9k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै चेतावनीको शैलीमा कडा टिप्पणी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत नाकाबन्दी गरिएको क्षेत्र नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले तत्काल नष्ट गर्ने बताए।
राष्ट्रपति ट्रम्पले भेनेजुयलाको समुद्री तटमा लागुऔषध तस्करका डुङ्गामाथि गरिएको हवाई आक्रमणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै इरानी जहाजमाथि पनि त्यस्तै सैन्य शक्ति प्रयोग गरिने चेतावनी दिए। क्यारेबियन सागरमा लागुऔषध व्यापारीहरू विरुद्ध प्रयोग गरिएको समान युद्धक प्रणाली र प्रविधि इरानी जहाजलाई ध्वस्त पार्न प्रयोग गरिने उनले उल्लेख गरे।
यसअघि नै इरानले शत्रु राष्ट्रका जहाजहरूका लागि रणनीतिक महत्त्वको हर्मुज जलमार्ग बन्द गरिसकेको छ। हाल इरानले चीनजस्ता आफ्ना मित्र राष्ट्रका जहाजहरूलाई मात्र सो मार्ग प्रयोग गर्न अनुमति दिइरहेको छ। अमेरिका र इरानबीचको यो नयाँ गतिरोधका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिको चिन्ता थपिएको छ, जसले गर्दा सोमबार कच्चा तेलको मूल्यमा करिब आठ प्रतिशतले वृद्धि भएको छ।
अमेरिकी नाकाबन्दीको यो कदमलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिक्रियाहरू आएका छन्। स्पेनले यसलाई ‘बेकारको लफडा’ को संज्ञा दिएको छ भने इरानबाट ठूलो मात्रामा इन्धन आयात गर्ने चीनले नाकाबन्दीको कडा विरोध गरेको छ।
यसैबिच, बेलायत र फ्रान्सले अमेरिकी नाकाबन्दीमा आफ्नो कुनै संलग्नता नरहने स्पष्ट पारेका छन्। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले यसको विकल्पमा जलमार्ग सुरक्षित गर्न ‘शान्तिपूर्ण बहुराष्ट्रिय अभियान’ को प्रस्ताव गरेका छन्। उनले सो अभियानमा सामेल हुन तयार देशहरूसँग फ्रान्स र बेलायतले मिलेर एउटा सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए।