arrow

अण्डाको मूल्य बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
eggs-hamrakura.jpg

काठमाडौँ । चितवनमा अण्डाको उत्पादनमा कमी आउनुका साथै बजारमा माग बढेपछि मूल्य वृद्धि भएको छ। लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूको लागत र बजारको अवस्थालाई मध्यनजर गर्दै वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको हो। 

नयाँ दरअनुसार ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट रु ४६५ पुगेको छ, जुन यसअघिको मूल्यभन्दा रु १५ बढी हो। त्यसैगरी मझौला अण्डाको मूल्य पनि रु ४०० बाट बढेर रु ४१५ कायम गरिएको छ। गत मङ्सिरमा अण्डाको मूल्य इतिहासमै उच्च बिन्दुमा पुगेर ठूलो अण्डा प्रतिक्रेट रु ५६५ सम्म बिक्री भएको थियो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएका विभिन्न रोग र बढ्दो गर्मीका कारण उत्पादनमा गिरावट आएको छ। अर्कोतर्फ, नयाँ वर्षको अवसरमा पर्यटकीय क्षेत्रमा बढेको चहलपहल र होटल तथा रेस्टुरेन्टमा हुने खपतका कारण अण्डाको मागमा उच्च वृद्धि भएको छ। 

साथै सीमा क्षेत्रमा सरकारले गरेको कडाइका कारण बाहिरबाट अण्डा आउने क्रम घट्नुले पनि स्थानीय बजारमा मूल्य बढाउन सहयोग पुर्‍याएको देखिन्छ। यद्यपि, हालको बढेको मूल्यले पनि किसानहरूको वास्तविक लागत भने अझै धान्न सकेको छैन।

अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९ दशमलव १२ पर्ने हुनाले किसानका लागि एक क्रेटको लागत मूल्य रु ५७४ हुन आउँछ। लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नुपर्दा किसानहरू निराश छन्। मूल्यमा केही सुधार देखिए पनि अझै प्रतिक्रेट रु १०० भन्दा बढीको घाटा बेहोर्नुपरेको अवस्था छ। बजारको माग र उत्पादनको अवस्था हेर्दा आगामी दिनमा मूल्य अझै बढेर लागत मूल्यसम्म पुग्ने र किसानहरूले राहत पाउने अपेक्षा सङ्घले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ