arrow

गृहमन्त्री गुरुङले गरे सीमा अपराध नियन्त्रणमा चीनसँग सहकार्यको प्रस्ताव

सुरक्षा निकायको क्षमता विकासमा बेइजिङको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
nepal-china.jpg.jpeg

काठमाडौँ । नेपालले चीनसँगको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहकार्यको प्रस्ताव अघि सारेको छ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच सिंहदरबारमा सोमबार भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपालले यस्तो औपचारिक प्रस्ताव राखेको हो।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल र चीनबीचको खुला सीमानाका कतिपय क्षेत्रमा हुनसक्ने अवैध तस्करी, मानव बेचबिखन र अन्य संगठित सीमा अपराध रोक्न दुवै देशका सुरक्षा संयन्त्रहरूबीच थप प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए। उनले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि चिनियाँ सहयोगको अपेक्षा समेत गरे।

नेपालको प्रस्तावप्रति चिनियाँ राजदूत माओमिङले सकारात्मक प्रतिक्रिया दिँदै सीमा अपराध रोकथाममा चीन सरकार नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। राजदूत माओमिङले नेपालका सुरक्षा निकायहरूको व्यावसायिक दक्षता र भौतिक क्षमता अभिवृद्धिमा चीनले आवश्यक सहयोग र साझेदारी गर्ने आश्वासन समेत दिए।

छलफलका क्रममा गृहमन्त्री गुरुङले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाहरूलाई निर्धारित समयमै सम्पन्न गर्न राजदूतको ध्यानाकर्षण गराए। उनले नेपाल–चीन जोड्ने अन्तरदेशीय रेलमार्ग निर्माणलाई गति दिन र दुई देशबीचको व्यापार सहजीकरणका लागि नाकाहरूको व्यवस्थापनमा चीनको थप सक्रियताको लागि अनुरोध गरे।

सो अवसरमा गृहमन्त्रीले 'एक चीन सिद्धान्त' प्रति नेपालको अटुट प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि प्रयोग गरेर छिमेकी मित्रराष्ट्र चीन विरुद्ध कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिने स्पष्ट पारे। जवाफमा राजदूत माओमिङले नेपालको राजनीतिक स्थिरता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति चीनको सधैँ सम्मान र समर्थन रहने बताएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ