२०८३ को वर्ष व्यवस्था : शासन सञ्चालनका प्रमुख व्यक्तिहरू स्वविवेकमा भन्दा परनियन्त्रणमा रहने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
857
Shares
काठमाडौँ । वर्ष २०८३ मा रौद्रनामक सम्वत्सर र दशाधिकारी ग्रहहरूमा राजापदमा गुरु, मन्त्रीपदमा भौम, सस्येशपदमा शुक्र, रसेशपदमा सूर्य, नीरसेशपदमा गुरु मेघेशपदमा चन्द्र, धान्येशपदमा चन्द्र, फलेशपदमा चन्द्र, धनेशपदमा गुरु, दुर्गेशपदमा चन्द्र रही ग्रहपरिषद् गठित भएर वर्षारम्भ भएको छ।
रौद्रनामक सम्वत्सर र शुभाशुभग्रहको विवेचन गर्दा यस वर्ष अर्थात् २०८३ सालमा
१. जागतिक परिस्थिति उत्साहजनक नै देखिन्छ।
२. राजा गुरु र मन्त्री मङ्गलको आपसी मित्रताको सम्बन्धले गर्दा शासकीय कार्यमा सहजताको स्थिति रहने छ भने देश केही सुधारात्मक मार्गमा रहेको अनुभूति हुनेछ।
वर्षको आरम्भ कर्क लग्नमा भएको छ, समग्रमा जगल्लग्न, लग्नेश र अन्य दशाधिकारी ग्रहहरूको माध्यमबाट यस वर्षमा निम्नानुसार शुभाशुभ फल प्राप्त हुनेछ।
जसमा
१. लग्नेश चन्द्र अष्टमस्थानमा राहुग्रस्त रहेकोले केही निर्बल देखिन्छ, जस्तै शासन सञ्चालनका प्रमुख व्यक्तिहरू स्वविवेकमा भन्दा परनियन्त्रणमा रहनेछन् ।
२. चन्द्रमा दुर्गेश पनि भएकाले देशका साँध-सीमानामा केही शिथिलता रहने देखिन्छ ।
३. मेघवर्षा विषम रहनेछ, त्यसैले धान्यादि उपज र रसादि वस्तुहरूको उत्पादनमा व्यवधान आउनेछ ।
४. दशम स्थानमा बलवान सूर्य र शुक्रको उपस्थितिले व्यावसायिक क्षेत्रमा भने उत्साहजनक स्थिति रहनेछ ।
५. धनेश गुरू द्वादश भावमा रहनाले देशमा ऋणको भार अझ थपिन सक्छ साथै अपव्ययको स्थिति पनि रहनेछ ।
६. नवमभावमा क्रूरग्रहको बाहुल्यता र नवमेश द्वादशस्थ रहनाले धार्मिक क्षेत्रमा व्यवधान साथै विधर्मीहरूको चलखेल पनि बढ्न सक्ने देखिन्छ ।
७. फल, सागसब्जी आदि रसवस्तुमा मध्यम तेजी रहनेछ भने सुन, चाँदी र तामा जस्ता धातुहरूको मूल्यमा अत्यधिक वृद्धि तथा व्यावसायिक दृष्टिले उक्त धातुहरूको सञ्चय अवश्य लाभप्रद देखिन्छ ।