चीनले निकट भविष्यमा इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
2k
Shares
काठमाडौँ । चीनले इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई 'आधारहीन र दुर्भावनापूर्ण' भन्दै अस्वीकार गरेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टहरूका बीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको दाबी पुनः दोहोर्याएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराएमा ५० प्रतिशतसम्मको नयाँ कर लगाउने चेतावनी दिएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूले चीनले निकट भविष्यमा इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेको दाबी गरेपछि ट्रम्पको यस्तो कडा अभिव्यक्ति आएको हो ।
सीएनएनले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै चीनले आगामी केही साताभित्र इरानतर्फ उन्नत रक्षा प्रणाली पठाउन सक्ने सङ्केत गरेको थियो । त्यस्तै, द न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधमा बोकेर प्रहार गर्न सकिने मिसाइलहरू पठाइसकेको हुन सक्ने आशङ्का सार्वजनिक गरेको थियो ।
यी आरोपहरूको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा चीनले सैन्य सामग्रीको निर्यातमा सधैँ कडा नियन्त्रण र जिम्मेवारीपूर्ण नीति अपनाउने बताए । उनले भने, “हामी आधारहीन धब्बा र दुर्भावनापूर्ण आरोपहरूको कडा विरोध गर्छौं ।” चीनले आफ्नो निर्यात नियन्त्रण कानुन र अन्तर्राष्ट्रिय दायित्वअनुसार हतियार आपूर्तिमा कडाइ गर्ने नीति कायम रहेको स्पष्ट पारेको छ ।
चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध छ र चीन इरानको प्रमुख तेल खरिदकर्ता पनि हो । तर, विश्लेषकहरूका अनुसार यी दुई देशबीच औपचारिक सैन्य गठबन्धन छैन र उनीहरूको सम्बन्ध मुख्यतः आर्थिक एवं रणनीतिक स्वार्थमा आधारित छ । चीनले खाडी क्षेत्रका अन्य देशहरूसँग पनि सम्बन्ध राख्दै आएको छ ।