arrow

व्यवस्थापन प्राधिकरणको वार्षिक विपद्‌ तथ्याङ्क

विपद्‌बाट चार सय ९६ जनाको मृत्यु: आगलागीका घटना सबैभन्दा बढी, सर्पदंश दोस्रो कारण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
baglung-dadhelo-fire.jpg

काठमाडौँ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्ष २०८२ को वार्षिक विपद्‌ तथ्याङ्क सार्वजनिक गरेको छ। वैशाख १ देखि चैत ३० गतेसम्मको तथ्याङ्क अनुसार यस वर्ष नेपालमा कुल ७ हजार ७ सय १६ वटा विपद्‌का घटनाहरू भएका छन्।

यस वर्ष भएका विभिन्न विपद्‌का घटनामा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन्। तथ्याङ्क अनुसार ३८ जना बेपत्ता भएका छन् भने १ हजार ९ सय ९१ जना घाइते भएका छन्। विपद्‌का कारण देशभरका १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

यस वर्ष सबैभन्दा बढी ३ हजार ७ सय ६८ वटा आगलागीका घटनाहरू भएका छन्, जसमा परी १०६ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना घाइते भएका छन्। मानवीय क्षतिका हिसाबले सर्पदंश दोस्रो ठूलो कारण बनेको छ। ६ सय २७ वटा सर्पदंशका घटनामा १ सय १ जनाले ज्यान गुमाएका छन्।

प्राकृतिक प्रकोपमध्ये पहिरोका ६ सय २४ घटनामा ७६ जना र बाढीका ३ सय २९ घटनामा ३९ जनाको मृत्यु भएको छ। यस्तै, ४ सय २६ वटा चट्याङका घटनामा ४८ जनाको मृत्यु र ३ सय १२ जना घाइते भएका छन्। अन्य विपद्‌हरूमा जनावरको आक्रमणबाट ५७, लेक लागेर ४१, भारी वर्षाबाट ७ र हिउँ पहिरोमा परी ६ जनाको मृत्यु भएको अभिलेख गरिएको छ।

चैत २९ देखि ३० गते बिहान १० बजेसम्मको २४ घण्टामा देशभर २९ वटा विपद्‌का घटना भएका छन्, जसमा लेक लागेर १ जनाको मृत्यु भएको छ भने करिब १५ लाख ९० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

आज चैत ३० गतेको मौसम विवरण अनुसार इलामको बारफल्याङमा सबैभन्दा बढी ७.४ मिमि वर्षा मापन गरिएको छ। त्यस्तै, आजको न्यूनतम तापक्रम मनाङको हुम्देमा –०.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम भैरहवामा ३८.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ