विश्वमा सैन्य होडबाजी र युद्धको जोखिम, नेपालमा आर्थिक उतारचढाव
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
711
Shares
काठमाडौँ । विक्रम संवत २०८३ सालको ग्रह गोचर र जगत् लग्नको विचार गर्दा आगामी वर्ष विश्व र नेपालका लागि निकै चुनौतीपूर्ण र परिवर्तनकारी रहने देखिएको छ। विभिन्न ज्योतिषीहरूले सैन्य शक्ति वृद्धि, आर्थिक मन्दी र राजनीतिक खिचातानीका बीच केही शुभ सङ्केतहरू समेत रहेको भविष्यवाणी गरेका छन्।
ज्योतिषी गुरु देवराज गौतमका अनुसार आगामी वर्ष विश्वभर सैन्य शक्तिको होडबाजी चल्ने र कुटनीतिक क्षेत्रमा द्वन्द्व बढ्ने देखिन्छ। विशेष गरी युरोप र अरब क्षेत्रमा सैन्य गतिविधिहरू तीव्र हुने र शक्ति राष्ट्रहरूबीचको अहङ्कारले राजनीतिक समीकरणमा नयाँ मोड आउने सङ्केत छ। विकसित देशका मुद्रा बलियो हुने तर कमजोर देशका मुद्राको अवमूल्यन हुने योग छ। यस्तै, ज्योतिषी अर्जुन बास्तोलाले आगामी जेठदेखि असारसम्म 'दारुण काल' र शनि वक्र हुने योगका कारण विश्वयुद्धको प्रबल सम्भावना रहेको डरलाग्दो प्रक्षेपण गरेका छन्।
नेपालको राशि (वृश्चिक) अनुसार मंसिरसम्म भौतिक र आर्थिक क्षेत्रमा केही प्रगति देखिए पनि वैदेशिक ऋणको भार बढ्ने ज्योतिषी गौतमको भनाइ छ। असारसम्म अर्थतन्त्र प्रतिकूल रहे पनि मंसिरपछि केही शुभ सङ्केतहरू देखिनेछन्। यद्यपि, ज्योतिषी बास्तोलाले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महँगीले जनजीवन कष्टकर बन्ने सङ्केत गरेका छन्। उत्तरमा अतिवृष्टि र मध्य भागमा अल्पवृष्टिका कारण कृषि उत्पादनमा असन्तुलन आउन सक्ने योग छ।
आगामी वर्षको राजा बृहस्पति र मन्त्री मंगल रहेका छन्। न्यायका कारक बृहस्पति राजा हुनुले समाजमा सदाचार र धार्मिक अनुष्ठान बढ्ने सङ्केत गरे पनि सेनापति मंगल मन्त्री हुनाले चोरी, डकैती, तस्करी र हिंसात्मक घटनामा वृद्धि हुन सक्ने ज्योतिषी सुधा भट्टराई र शिवप्रसाद पोख्रेलले विश्लेषण गरेका छन्। ५४ औँ संवत्सर 'रुद्र संवत्सर' चल्ने भएकाले वर्षाको असन्तुलन र आगलागीको जोखिम उच्च रहने देखिन्छ।
समाजमा महिलामाथि दबाब र अत्याचार बढ्न सक्ने र प्रविधिको दुरुपयोग गरी अपहरण तथा जालसाजी जस्ता आपराधिक क्रियाकलापमा बढोत्तरी हुने ज्योतिषीय विश्लेषण छ। यद्यपि, राजा र मन्त्री ग्रह मित्र भएकाले राष्ट्र प्रमुख र सल्लाहकारहरूबीच केही समन्वय मिल्ने र चुनौतीका बाबजुद समग्रमा यो वर्ष अन्य वर्षको तुलनामा केही शुभ फलदायी रहने अपेक्षा समेत गरिएको छ।
ज्योतिषीहरूले सावधानीका लागि पुराना कमजोरी सुधार्दै नयाँ ढङ्गले अगाडि बढ्न र वनजङ्गल एवं अन्न भण्डारणमा विशेष सतर्कता अपनाउन सुझाव दिएका छन्।