प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युवा परिवारको जिम्मामा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
793
Shares
काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका पाँचथरका एक युवालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै ती युवालाई हालका लागि अभिभावकको जिम्मा लगाइएको र घटनाबारे ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्रालयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सरकारले पूर्ण सम्मान गर्ने स्पष्ट पारेको छ। तर, विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहेको मन्त्रालयको भनाइ छ। प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ।"
मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने कार्यहरू प्रचलित कानुनविपरीत रहेको स्मरण गराएको छ। यस्ता क्रियाकलापहरूमा सम्बन्धित निकायले नियमित प्रक्रियाअन्तर्गत निगरानी गरिरहेको समेत मन्त्रालयले जनाएको छ।
सरकारले प्रत्येक नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुनको दायराभित्र रहेर मात्र आफ्ना असहमति वा विचारहरू राख्न नागरिकहरूलाई अनुरोध गरेको छ।