इरानलाई चीनले सैन्य सहयोग गर्न लागेको खुफिया सूचना, ट्रम्पले दिए यस्तो चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
1.8k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धका क्रममा इरानलाई सैन्य सहयोग नगर्न चीनलाई चेतावनी दिएका छन्। फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’ मा बोल्दै ट्रम्पले यदि चीनले इरानलाई हतियार सहयोग गरेमा अमेरिका भित्रिने चिनियाँ सामानमा ५० प्रतिशत थप भन्सार महसुल (ट्यारिफ) लगाउने आइतबार घोषणा गरेका हुन्।
अमेरिकी खुफिया एजेन्सीहरूका अनुसार चीनले इरानलाई विमान खसाल्ने रकेट र ‘एयर डिफेन्स’ प्रणालीका हतियारहरू पठाउन लागेको सूचना बाहिरिएको छ। यसबारे सीएनएनले सोधेको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले भने, "यदि चीनले त्यसो गर्न लागेको हो भने यो उसका लागि ठूलो समस्याको विषय हुनेछ।"
इरानविरुद्धको युद्धका कारण चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको शिखर वार्तामा ढिलाइ भए पनि आफू अर्को महिना बेइजिङ जाने ट्रम्पले स्पष्ट पारेका छन्। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेपछि क्षेत्रमा तनाव चुलिएको छ।
यसैबीच, युद्धको स्थायी अन्त्यका लागि पाकिस्तानमा शनिबार भएको अमेरिका–इरान वार्ता निष्कर्षविहीन टुङ्गिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म चलेको गहन वार्तामा कुनै ठोस सहमति जुट्न सकेन। हाल दुई हप्ताका लागि गरिएको युद्धविराम जारी रहे पनि वार्ता असफल भएपछि भविष्यको सुरक्षा अवस्थाप्रति चिन्ता बढेको छ।