arrow

ट्रम्पले दिए 'स्ट्रेट अफ हर्मुज' मा नाकाबन्दी गर्न अमेरिकी नौसेनालाई आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
trump-always101.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेको बताएका छन्। वार्ता निष्कर्षविहीन टुङ्गिएपछि पहिलो प्रतिक्रिया दिँदै ट्रम्पले 'स्ट्रेट अफ हर्मुज' मा अमेरिकी नौसेनालाई नाकाबन्दी गर्न आइतबार आदेश दिएका हुन्।

पाकिस्तानमा भएको वार्ता सकारात्मक रहेको र अधिकांश बुँदामा सहमति जुटेको स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले तेहरान आफ्नो पारमाणविक कार्यक्रमका विषयमा टसको मस नभएको उल्लेख गरे। इरानले आणविक कार्यक्रम त्याग्न नमानेकै कारण सम्झौता हुन नसकेको उनको भनाइ छ।

राष्ट्रपति ट्रम्पले 'स्ट्रेट अफ हर्मुज' मा प्रवेश गर्ने वा त्यहाँबाट बाहिर निस्कन खोज्ने कुनै पनि पानीजहाजमाथि नाकाबन्दी लगाउन अमेरिकी नौसेनालाई निर्देशन दिएका छन्। यो प्रक्रिया तत्कालै लागू हुने उनले स्पष्ट पारेका छन्। यो कदमले विश्वकै प्रमुख तेल आपूर्ति मार्गमा तनाव झन् बढ्ने देखिएको छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएको यो ऐतिहासिक उच्चस्तरीय बैठकपछि अमेरिकी प्रतिनिधिमण्डल वासिङ्टन फिर्ता भएको छ। वार्तामा अमेरिकाले इरानलाई सम्झौताका लागि 'अन्तिम र उत्तम प्रस्ताव' दिएको दाबी गरेको छ।

जर्मनीको रामस्टिन एयर बेसमा इन्धन भर्ने क्रममा एक अमेरिकी अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै वार्ता टोलीका कुनै पनि सदस्य अब इस्लामाबादमा नरहेको पुष्टि गरे। उक्त प्रतिनिधिमण्डलमा प्रमुख अमेरिकी वार्ताकारहरू स्टिभ विटकोफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुश्नर समेत सहभागी थिए।

अमेरिकाले अब इरानी पक्षले आफ्नो प्रस्तावलाई कसरी लिन्छ भन्ने कुरा पर्खिरहेको जनाएको छ। तर, तत्कालका लागि भने सैन्य र कूटनीतिक दबाबलाई ट्रम्प प्रशासनले तीव्रता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ