arrow

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै

मानव सभ्यताको नयाँ युगको स्मरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
astonut-day.jpg

काठमाडौँ ।  मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको ऐतिहासिक क्षणलाई स्मरण गर्दै आज विश्वभर 'अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस' विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ अप्रिल ७ मा प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। 

यो दिवसले अन्तरिक्ष विज्ञान र प्रविधिले पुर्‍याएको योगदानलाई सम्मान गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न तथा आम मानिसको जीवनस्तर उकास्न अन्तरिक्ष प्रविधिको प्रयोगमा जोड दिँदै आएको छ।

ऐतिहासिक रूपमा सन् १९६१ अप्रिल १२ मा सोभियत नागरिक युरी गागरिनले पहिलो पटक सफलतापूर्वक अन्तरिक्ष उडान भरेका थिए। पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बनेर गागरिनले अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय सुरु गरेका थिए। 

त्यसअघि सन् १९५७ अक्टोबर ४ मा पहिलो मानव निर्मित उपग्रह 'स्पुतनिक–१' प्रक्षेपण गरिएसँगै अन्तरिक्ष यात्राको मार्ग प्रशस्त भएको थियो। त्यसपछिका दशकहरूमा मानव अन्तरिक्ष यात्रामा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन्।

यस क्षेत्रका अन्य प्रमुख कोशेढुङ्गाहरूमा सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बन्नुभयो भने सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङले चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानवको इतिहास रच्नुभएको थियो। यस्तै सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यान जोडेर पहिलो पटक योजनाबद्ध अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष अभियान सफल भएको थियो। 

संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषण र यसको उपयोगलाई सम्पूर्ण मानवजातिको साझा सम्पत्तिका रूपमा परिभाषित गर्दै यसको लाभ विश्वका सबै राष्ट्रसम्म न्यायोचित रूपमा पुग्नुपर्नेमा जोड दिँदै आएको छ। आजको यो दिवसले अन्तरिक्षमा शान्तिपूर्ण सहकार्य र नयाँ खोजका लागि विश्व समुदायलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ