arrow

राष्ट्रिय आर्थिक गणनाको तयारी अन्तिम चरणमा, पाँच हजार जनशक्ति परिचालित

वैशाख २ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना शुरू हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
Statistics_Bureau_tathyanka.jpg

काठमाडौँ । मुलुकको समग्र आर्थिक अवस्थाको चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार देशभरका सबै जिल्लामा गणक र सुपरिवेक्षकहरू आफ्नो कार्यक्षेत्रमा पुगिसकेका छन्।

आगामी वैशाख २ गतेदेखि शुरू हुने यो गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य असारको पहिलो सातासम्म जारी रहनेछ। यस महत्त्वपूर्ण राष्ट्रिय अभियानका लागि देशभर करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ। गणनाका लागि ७७ जिल्ला र थप सात गरी कुल ८४ वटा कार्यालयहरू स्थापना भइसकेका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।

यस गणनामा आर्थिक क्षेत्रका १८ वटा विभिन्न क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिनेछ। यस अन्तर्गत दर्ता भएका वा नभएका ठूला तथा साना व्यापारिक प्रतिष्ठान, स्वरोजगार इकाई, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी संस्थान, निजी तथा सरकारी विद्यालय र अस्पतालहरू समेटिनेछन्। मुख्य गरी प्रतिष्ठानहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारीको अवस्था, उत्पादन र सेवा प्रवाहको तथ्याङ्क सङ्कलन गर्ने लक्ष्य राखिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योगी, व्यवसायी र सरोकारवालाहरूलाई आग्रह गरेका छन्। उनले मुलुकको औद्योगिक एवं आर्थिक नीति निर्माणका लागि यो तथ्याङ्क आधारस्तम्भ हुने भएकाले सही र पूर्ण विवरण उपलब्ध गराएर योगदान पुर्‍याउन अनुरोध गरे। तथ्याङ्क कार्यालयले पनि यो एक राष्ट्रिय अभियान भएकाले सबैको सहयोग र सक्रिय सहभागिता अपरिहार्य रहेको स्पष्ट पारेको छ।

यसअघि वि.सं. २०७५ सालमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो। सो गणनाले देशभर नौ लाख २३ हजार ३५६ वटा व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा रहेको तथ्य सार्वजनिक गरेको थियो। आठ वर्षपछि हुन लागेको यो दोस्रो गणनाले कोभिड–१९ पछि र वर्तमान समयमा नेपालको आर्थिक संरचनामा आएको परिवर्तनलाई उजागर गर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ