arrow

संसदमा आरोप-प्रत्यारोपभन्दा जिम्मेवारीपूर्ण व्यवहार आवश्यक : हर्कराज राई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
harkaraj-rai-12-27.jpg

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले उपसभामुखको उम्मेद्वार रुविकुमारी ठाकुरलाई सदनमा ‘बहिनी’ भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।

उनले भने, ‘हामी यहाँ सबैजना माननीय हौँ। पूर्ववक्ताहरुले हाम्रो माननीय रुवि कुमारी ठाकुरलाई बहिनी भनेर सम्बोधन गरेको सुनेँ। त्यो शब्द खारेज गरियोस्। यहाँ कोहीको बहिनी, नातिनी, बाजे भन्ने शब्दले बोल्नुहुँदैन। माननीय भनेर नै सम्बोधन गर्नुपर्छ ।’

उनले संसदमा आरोप-प्रत्यारोपभन्दा जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको बताए ।

रास्वापाले समर्थन जनाउने बाचा गरेर धोका दियो भनेर राप्रपाले व्यक्त गरेको धारणाप्रति असन्तुष्टि जनाउँदै उनले कसले फोन गरेको थियो, कसले औंला समाएर डोहोर्याएको थियो भनेर विलौना गर्नु उचित नहुने बताए ।

उनले भने,‘आम जनताले हामीलाई चयन गर्दा केके भन्यौँ होला, प्रतिस्पर्धा हो । तर अहिले त्यो भन्दा संसदको मर्यादा रहन्छ जस्तो लाग्दैन । यहाँ कसैले कसैलाई सिकाइराख्नु पर्दैन। त्यति सुझबुझ हामी राख्छौँ। त्यसैले कसले फोन गरेको थियो, कसले औँला समाएर डोहोर्याएको थियो भनेर विलौना गर्न उचित जस्तो लाग्दैन । तर हामी माननीय भएर आइसकेका छौँ । अब चाँही अरुलाई आक्षेप लगाउने काम नगरौँ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ