भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा आजदेखि: नौ दिन आठ रात जात्राको रौनक छाउने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
680
Shares
काठमाडौँ । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पहिचान बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजदेखि विधिवत् रूपमा सुरु हुँदैछ। तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ (भैलखः) तानातान गरी यो जात्राको सुरुआत गरिन्छ। योसँगै भक्तपुर अब नौ दिन र आठ रातसम्म जात्राको उत्सवमा झुम्नेछ।
प्यागोडा शैलीमा निर्मित तीनतल्ले भैरवनाथको रथमा मूल देवता र बेताल देवतालाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले डोरीले तानातान गर्ने परम्परा छ। जात्राको पहिलो दिन रथलाई तानेर गःहिटी पुर्याएपछि सो दिनको जात्रा सम्पन्न हुन्छ। जात्राको चौथो दिन ५५ हात लामो 'यसींद्यो' (लिङ्गो) उभ्याइन्छ, जसलाई हेर्नाले शत्रुहरू नाश हुने धार्मिक विश्वास छ। वैशाख १ गते (नयाँ वर्ष) का दिन साँझ लिङ्गो ढालिन्छ र त्यसपछि भैरव र भद्रकालीको रथलाई एक-आपसमा जुधाएर 'द्योः ल्वाकिगु' (सङ्गम जात्रा) मनाइन्छ।
संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार यस जात्रालाई ऐतिहासिक शिलालेखहरूमा 'विश्व जात्रा' भनी सम्बोधन गरिएको छ। उनले जात्राका बारेमा जनमानसमा रहेको नाग-नागिनीको किंवदन्तीलाई भ्रमपूर्ण भन्दै यो नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। लिङ्गोमा फहराइने दुई ध्वजाहरूलाई उनले 'विश्वध्वजा' र 'वीरध्वजा' को संज्ञा दिएका छन्, जसले साक्षात् भैरव र भद्रकालीको प्रतिनिधित्व गर्दछन्।
विगतका वर्षहरूमा रथ तान्ने क्रममा हुने झडप र दुर्घटनालाई मध्यनजर गर्दै यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार जात्रालाई मर्यादित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। हुलदङ्गा गर्नेहरूको पहिचानका लागि चोक-चोकमा सिसी क्यामेरा जडान गरिएको छ र उच्छृङ्खल गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। दुर्घटना न्यूनीकरणका लागि रथमा सीमित व्यक्तिहरू मात्र चढ्न पाउने र उनीहरूले नाङ्गो खुट्टा बस्नुपर्ने नियम समेत लागू गरिएको छ।
जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दिउँसो ३:०० बजेदेखि नै रथ तान्न सुरु गरी साँझ ५:०० बजेभित्रै तोकिएको स्थानमा पुर्याउने तयारी गरिएको छ। स्थानीय प्रशासनले जात्रालाई सद्भाव र उत्साहका साथ मनाउन सबै भक्तपुरबासीलाई आग्रह गरेको छ।