कर्तव्यनिष्ठ र अनुशासित भएर राष्ट्र सेवामा जुट्न प्रधानमन्त्री साहको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
835
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले नेपाली सेनाका नवनियुक्त अधिकृतहरूलाई पूर्ण निष्ठा, अनुशासन र जिम्मेवारी बोधका साथ राष्ट्र सेवामा समर्पित हुन आह्वान गरेका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार आयोजित अधिकृत क्याडेट तालिमको 'आयुक्त पद प्रदान कवाज' (कमिस्निङ सेरेमनी) लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
समारोहमा प्रधानमन्त्री साहले करिब ३६ महिनाको कठिन सैनिक प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गरेका क्याडेटहरूलाई बधाई दिए। उनले मातृभूमि र जनताको रक्षाका लागि सधैँ तत्पर रहन आग्रह गर्दै सैनिक आचरण, अनुशासन र 'चेन अफ कमाण्ड' को पूर्ण पालना गर्न निर्देशन दिए। फरक–फरक सामाजिक परिवेशबाट आएका जवानहरूको नेतृत्व गर्दै एक सक्षम र एकीकृत टोली निर्माण गर्ने जिम्मेवारी अब नवआयुक्त अधिकृतहरूको काँधमा आएको उनले उल्लेख गरे।
प्रधानमन्त्री साहले सो अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरी र छडी प्रदान गरे। समारोहमा कुल १८३ जना अधिकृत क्याडेटहरूले आफ्नो सीप र कौशल प्रदर्शन गर्दै आयुक्त पदको कवाज प्रस्तुत गरेका थिए।
यसैगरी, प्रधान सेनापति महारथी अशोकराज सिग्देलले तालिममा सहभागी मित्रराष्ट्र केन्या र जाम्बियाका तीन शिक्षार्थी अधिकृत क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गरे। सन् २०१२ देखि विदेशी शिक्षार्थीहरू समेत सहभागी गराउन थालिएको यस प्रतिष्ठानबाट हालसम्म विभिन्न देशका ३२ जनाले तालिम पूरा गरिसकेका छन्। समारोहमा सहभागी भएका नवआयुक्त अधिकृतहरूलाई उनीहरूका अभिभावक तथा आफन्तजनले दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका थिए।