arrow

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण तवरले फौजदारी अभियोग लगायो : अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
kp-oli-arrest-82-12-14-final.jpg

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओली १३ दिनसम्म गैरकानूनी रूपमा नियन्त्रणमा राखिएपछि रिहा भएका छन्।

रिहा भएलगत्तै अध्यक्ष ओलीले वर्तमान सरकारले आफूमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण तवरले फौजदारी अभियोग लगाएको आरोप लगाएका छन्। 

ओलीले भने, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएको थियो, तर मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि म अन्ततः रिहा भएको छु।”

ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइ, कानून व्यवसायी, न्यायकर्मी, राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।

उनले परमादेश जारी गर्ने सर्वोच्च अदालतलाई पनि उच्च सम्मान व्यक्त गरेका छन्।

प्रहरी नियन्त्रणमा रहँदा देखाइएको मानवीय व्यवहार र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।

ओलीले भने, “मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरिएर घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उपचार खर्च राज्यले बेहोर्नु पर्छ, यदि राज्य उदासिन भए हाम्रो पार्टीले खर्च बेहोर्नेछ।”

केपी शर्मा ओलीको स्टाटस

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।
प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु। 
मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु। 
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ