arrow

सरकारी कार्यालयमा अझै सक्रिय छन् बिचौली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
sarlahi-gov-office.jpg

सर्लाही । भूमि व्यवस्थापनसँग सम्बन्धित कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्न सरकारको स्पष्ट निर्देशन भए पनि जिल्लाका विभिन्न सरकारी निकायमा बिचौलीको गतिविधि अझै रोकिएको छैन ।

गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत, नापीलगायतका कार्यालयमा बिचौली निषेध गर्न निर्देशन जारी गरेको थियो ।

तर सर्लाहीका केही कार्यालयमा उक्त निर्देशन कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको देखिएको छ ।

गत आइतबार मात्रै जिल्ला सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय तथा यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले नौ जना बिचौलीलाई पक्राउ गरेको छ ।

उनीहरू सेवाग्राहीलाई काम छिटो गराइदिने भन्दै रकम अशुल्दै आएको आरोप छ ।

यस्तै, बरहथवास्थित नापी कार्यालय परिसरमा पनि बिचौलीको सक्रियता घटेको छैन ।

लेखापढी व्यवसायीको नाममा बस्ने केही व्यक्तिहरूले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराइदिने बहानामा अतिरिक्त रकम लिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

त्यहाँ, बिचौलियाहरूले काम सहज रूपमा गरिदिने बहानामा सेवाग्राहीबाट करिब दुई हजारदेखि दुई हजार पाँच सयसम्म रकम अशुल्ने गरेको पाइएको छ ।

सेवाग्राहीलाई कार्यालयका प्रमुखले समेत उनी (बिचौली) सँग मिलेर काम गर्न लगाउने गरेको स्थानीयहरू बताउँछन् ।

जिल्लाका अन्य यातायात व्यवस्था कार्यालयदेखि त्यहाँको ट्रायल सेन्टरसम्म, भूमि सुधार तथा मालपोतलगायतका कार्यालयमा समेत बिचौली अझै सक्रिय छन् ।

सरकारी कार्यालयमा बिचौलीको पहुँचले सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् ।

कानूनी रूपमा निःशुल्क वा न्यून शुल्कमा हुने सेवाका लागि समेत अतिरिक्त रकम तिर्न बाध्य बनाइएको भन्दै सर्वसाधारण आक्रोशित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ