ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार पुनः सुनुवाइ हुने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
848
Shares
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्ने भएको छ। आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुरु भएको बहस समय अभावका कारण 'हेर्दाहेर्दै' मा राखिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले गत चैत १५ गते आफ्ना पतिहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि चैत १६ गते न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको छुट्टाछुट्टै इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिसकेका छन्।
रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा उनीहरूलाई पक्राउ गरिनु कानुनसम्मत नभएको जिकिर गरिएको छ। कुनै पनि आयोगको प्रतिवेदनकै आधारमा सिधै पक्राउ र थुनामा राख्ने कार्य गैरकानुनी भएको दाबी रिटमा गरिएको छ। सोमबार हुने सुनुवाइले उनीहरूको रिहाइ वा थुना निरन्तरताबारे थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।