ट्रम्पको अन्तिम अल्टिमेटम: हर्मुज जलमार्ग नखोलिए इरानका ऊर्जा केन्द्र ध्वस्त पार्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
832
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापारका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने सम्बन्धमा इरानलाई अन्तिम ४८ घण्टाको कडा चेतावनी दिएका छन्।
आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले इरानलाई सम्झौताका लागि दिइएको १० दिनको समयसीमा अब अन्त्यतिर पुगेको उल्लेख गरेका हुन्।
उनले इरानी शासकहरूलाई लक्षित गर्दै समय घर्किँदै गएको र अब केवल ४८ घण्टा मात्र बाँकी रहेको भन्दै दबाब बढाएका छन्।
यसअघि मार्च २१ मा ट्रम्पले पहिलो पटक चेतावनी दिँदै यदि इरानले ४८ घण्टाभित्र बिना कुनै अवरोध हर्मुज जलसन्धि पूर्ण रूपमा सञ्चालनमा ल्याएन भने इरानको सबैभन्दा ठूलो ऊर्जा केन्द्र नष्ट गरिदिने धम्की दिएका थिए।
तर, त्यसको दुई दिनपछि इरानी अधिकारीहरूसँग ‘फलदायी कुराकानी’ भइरहेको भन्दै उनले सम्भावित सैन्य आक्रमणलाई ५ दिनका लागि स्थगित गरेका थिए। पछि फेरि सो म्यादलाई बढाएर १० दिन पुर्याइएको थियो, जुन अमेरिकी समयअनुसार आगामी सोमबार बेलुका ८:०० बजे समाप्त हुँदैछ।
इरानले हर्मुज जलसन्धिमा अवरोध सिर्जना गर्दा विश्वबजारमा इन्धन आपूर्ति र मूल्यमा ठूलो प्रभाव परिरहेको छ। यद्यपि, राष्ट्रपति ट्रम्पले नागरिक ऊर्जा पूर्वाधारलाई निशाना बनाउने धम्की दिएपछि अन्तर्राष्ट्रिय कानुनका विज्ञहरूले यस्तो कदम 'युद्ध अपराध' हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। ट्रम्पको यो पछिल्लो अल्टिमेटमले मध्यपूर्वमा जारी तनावलाई निर्णायक मोडमा पुर्याएको छ र सोमबार बेलुकासम्म इरानले कस्तो कदम चाल्छ भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ।