मोहनविक्रमको दाबी: वर्तमान सरकार अमेरिकी रणनीतिको 'कठपुतली'
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
851
Shares
काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी गरेका छन्। उनले अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ स्थापना गरिएको आरोप लगाएका हुन्।
सिंहका अनुसार कुनै पनि देशको परराष्ट्र नीति त्यहाँको सरकारको स्वरूपले निर्धारण गर्छ। नेपालमा अहिले बनेको सरकारले छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पुर्याउने र अमेरिकी स्वार्थलाई मात्र प्राथमिकता दिने उनको विश्लेषण छ। महामन्त्री सिंहले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरेर चीनको तिब्बतमाथि आक्रमण गर्नु रहेको आशंका व्यक्त गरे। उनले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमि बनाउने खतरा बढेको बताए।
सिंहले पपुलिजम (लोकप्रियतावाद) लाई अन्तर्राष्ट्रिय समस्याका रूपमा चित्रण गर्दै यसले फासीवादलाई जन्म दिने उल्लेख गरे। उनले भने, ‘अमेरिकालाई नेपालमा यस्तो राजनीतिक शक्ति चाहिएको थियो, जसको आफ्नै कुनै राजनीतिक दिमाग छैन र अर्कैको निर्देशनमा नाङ्गो रूपमा चल्छ। हामीले युक्रेन, गाजा र इरानको स्थिति देखेका छौँ, नेपाललाई पनि त्यस्तै युद्धभूमि बनाउने योजनाबद्ध प्रयास भइरहेको छ। जब जनतामा राजनीतिक विचारभन्दा भावना हावी हुन्छ, तब देशले गम्भीर क्षति व्यहोर्नुपर्छ। अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको शिकार भएका छन्।’
सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको भन्दै उनले लोकतान्त्रिक अधिकारहरू खोसिएकोमा चिन्ता व्यक्त गरे। उनले अमेरिकी साम्राज्यवाद र यो गम्भीर संकटका विरुद्ध सारा देशभक्त नेपाली, वामपन्थी र प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिए।