शुरू भयो फेवाताल किनारका अनधिकृत संरचना हटाउने अभियान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
949
Shares
पोखरा। पोखरा महानगरपालिकाले फेवातालको किनारमा रहेका अनधिकृत संरचना हटाउने काम शुरू गरेको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा ताल किनारका अवैध संरचनामा डोजर चलाइएको हो।
महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त सहजीकरणमा फेवाताल संरक्षणको कामलाई तीव्रता दिइएको छ।
मेयर आचार्यले भने, “सर्वोच्च अदालतको फैसलालाई पूर्णरूपमा कार्यान्वयन गर्न महानगर प्रतिबद्ध छ। विगत तीन वर्षदेखि निरन्तर प्रयासपछि गत असार मसान्तमा तालको सीमांकनका लागि पोल गाड्ने काम सम्पन्न भएको थियो। अब ६५ मिटर मापदण्ड भित्र पर्ने संरचना हटाउने अर्को चरण शुरू गरिएको हो।”
महानगरपालिकाले अवैध संरचना हटाउने अघि पटक-पटक सार्वजनिक सूचना र पत्राचार जारी गरेको थियो।
उनले थने, “फेवातालको ६५ मिटर क्षेत्र खाली गर्ने र जग्गाको वर्गीकरण गरी उचित मुआब्जा दिने आदेश कार्यान्वयनको चरणमा छौँ। यो अभियानले तालको प्राकृतिक सौन्दर्य र क्षेत्रफल संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ।”
तर, स्थानीय व्यवसायीहरूले यस कदमप्रति असन्तुष्टि जनाएका छन्। ताल किनारमा संरचना राखेर व्यवसाय गर्दै आएकी प्रकृति सुवेदीले भनिन्, “हामीले कुनै सूचना पाएका थियौँ। रातारात डोजर चलाइयो र मुआब्जा पनि आएको छैन। ६५ मिटर मापदण्ड लागू गर्दा पक्षपात भएको छ। नियम सबैका लागि समान हुनुपर्छ।”
व्यवसायीहरूले फेवा ताल संरक्षणको अभियानमा समर्थन रहेको तर प्रक्रिया पारदर्शी र न्यायपूर्ण हुनुपर्ने माग गरेका छन्।
महानगरपालिकाले भने मापदण्ड कार्यान्वयनमा कुनै सम्झौता नगर्ने अडान लिएको जनाएको छ।