मध्यपूर्वमा रहेका नेपालीको उद्धार: आजदेखि तीन दिनसम्म विशेष उडान, यस्तो छ तालिका [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
825
Shares
काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सञ्चालन गरेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले स्वदेश फर्कन चाहने र पहिले नै टिकट बुकिङ गरेका नागरिकहरूका लागि आगामी तीन दिनसम्म विशेष उडान सञ्चालन गरिने जानकारी दिएका हुन्।
सार्वजनिक गरिएको तालिकाअनुसार शुक्रबार काठमाडौं–दुबई, शनिबार दुबई–काठमाडौं र आइतबार काठमाडौं–दमाम एवं दमाम–काठमाडौं रुटमा उडानहरू हुनेछन्। मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली नियोगहरूको सिफारिसमा अप्ठ्यारोमा परेका कम्तीमा पाँच जनासम्मलाई नियमित भाडादरमै टिकट उपलब्ध गराउन समेत अनुरोध गरेको छ।
प्रवक्ता क्षेत्रीका अनुसार यसअघि अप्रिल १ मा कुवेत एयरवेजमार्फत २१ जना नेपाली नागरिक र विभिन्न कारणले ज्यान गुमाएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइसकिएको छ। मध्यपूर्वको अस्थिर परिस्थितिका बीच नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यो उद्धार प्रक्रिया अघि बढाएको हो।