बाजुरा। बाजुरामा समयमै पाठ्यपुस्तक पुगेका छन्। शैक्षिक सत्र शुरू नहुनु अगावै बाजुरामा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला केही बर्षहरूमा समयमै पाठ्यपुस्तक नपुग्ने बाजुरामा पछिल्ला दुई तीन बर्षहरुमा भने समयमै पाठ्यपुस्तक पुग्ने गरेका छन् ।
जिल्लाका विभिन्न वितरण केन्द्रमा समयमै पाठ्यपुस्तक पुगिसकेका छन्। अघिल्ला बर्षहरूमा बर्ष बितिसक्दा समेत पाठ्यपुस्तक नपुग्ने बाजुरामा अघिल्ला दुई बर्ष र यो बर्षमा भने समयमै किताब पुगेका हुन्। समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीसमेत निकै खुशी देखिएका छन् ।
जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीको संख्याका आधारमा शैक्षिक सत्र २०८३ का लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णय बमोजिम नै पाठ्यपुस्तक आएको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख लालबहादुर बिष्टले जानकारी दिए ।
सदरमुकाम मार्तडीमा अहिले बडीमालिका,गौमुलका केही विद्यालय बूढीगंगा र खप्तड छेडेदहको केही विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक जिल्ला सदरमुकाम मार्तडी आइपुगेको पाठ्यपुस्तक विक्री केन्द्र डेल्टा एण्ड करुणा पुस्तक पसलका सञ्चालक नृपबहादुर खातीले बताए ।
‘जिल्लाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक बिक्री केन्द्रमा आइसकेका छन्,’ उनले भने, ‘बाजुराका सबै पाठ्यपुस्तक विक्री केन्द्रमा पुस्तक पुगेर विक्रीवितरण कार्य चलेको छ। पर्याप्त पाठ्यपुस्तक आएको हुँदा पुस्तकको कमी हुने छैन । सम्पूर्ण विद्यालयले समयमै विक्री केन्द्रमा आएर आवश्यक पाठ्यपुस्तक लिइ सहयोग गर्न अनुरोध छ ।’
साथै उनले आफ्नो विक्री केन्द्रबाट हालसम्म ११ बढी विद्यालयले पुस्तक लगेको बताउँदै पाठ्यपुस्तक विक्रीवितरण कार्य निरन्तर रहने जानकारी दिए ।
समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीलाई भर्ना सँगसँगै हातमै पुस्तक दिन सहज हुने बालमन्दिर आधारभूत विद्यालयका शिक्षक कठकबहादुर रोकायाले बताए ।
पछिल्लो दुई शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीको सिकाई र शिक्षा क्षेत्रमा समेत सुधार भएको उनको भनाइ रहेको छ ।
शैक्षिक सत्र शुरू हुनु करिब एक हप्ता बाँकी रहे पनि विभिन्न पाठ्यपुस्तक बिक्री केन्द्रमा पाठ्यपुस्तक पुगेका हुन् ।
जनक शिक्षाले समयमै नयाँ शैक्षिक शत्र शुरू हुनुभन्दा पहिले नै मुलुकका विभिन्न वितरण केन्द्रमा पाठ्यपुस्तक पुर्याइसकेको छ ।
सरकारले बाजुरासहित हिमाली तथा पहाडी जिल्लालाई विशेष प्रथामिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य राखेसँगै सोही अनुरुप बाजुरासहित अन्य सुदूरका जिल्लामा समयमै पाठ्यपुस्तक पुगेका छन् ।
जिल्लामा दुई सय ३७ ओटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेको जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराले जनाएको छ ।
जिल्लाका नौ ओटै पालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र शुरू हुनु अगावै पाठ्यपुस्तक पुग्ने गरेको भए पनि शैक्षिक गुणस्तरमा भने सुधार नभएको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ ।