बाजुरा। नियमित खोप सेवाबाट छुटेका बालबालिकालाई खोजी र खोप अभियान सञ्चालन गर्न बाजुराको गौमुल गाउँपालिकाले सक्रिय कदम चालेको छ ।
गाउँपालिकाले ६ ओटै वडामा पुगेर छुटेका बालबालिकाको पहिचान गरी सर्वेक्षण शुरू गरेको जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख हरिश विकका अनुसार, पालिकाका १० ओटा स्वास्थ्य संस्थाबाट एक/एक जना स्वास्थ्यकर्मी खटाएर अभियान सञ्चालन गरिएको छ।
अभियानको मुख्य उद्देश्य विभिन्न कारणले खोपबाट वञ्चित बालबालिकालाई पहिचान गरी खोपको दायरामा ल्याउनु रहेको छ । यो अभियान यही चैत मसान्तसम्म सञ्चालन हुने जनाएको छ ।
छिमेकी भारत जाने परिवारका बालबालिकाहरू खोप कार्ड नहुँदा वञ्चित हुने गरेका छन् ।
गत वर्ष यहाँ दुई बालबालिका छुटेका थिए, तर यस वर्ष हालसम्म त्यस्ता बालबालिका भेटिएका छैनन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद भट्टका अनुसार, २०८३ वैशाख मसान्तभित्रै गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता गर्ने लक्ष्यका साथ सर्वेक्षण अभियानलाई तीव्रता दिइएको छ ।
प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली खटाएर नियमित खोपबाट छुटेका बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको छ ।