arrow

एमाले सचिवालय बैठकमा बादलको अभिव्यक्तिमाथि छलफल हुँदै

बादलको 'विष्फोटक' सम्बोधन र ओलीको पक्राउले पार्टीभित्रै भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
ram-bahadur-thapa-19-12.jpg

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज शुक्रबार दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र संसदीय दलका नवनिर्वाचित नेता रामबहादुर थापा 'बादल' ले बिहीबारको प्रतिनिधि सभा बैठकमा दिएको विवादास्पद अभिव्यक्तिका कारण यो बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

संसदीय दलको नेताका रूपमा बादलले दिएको ६ मिनेट १७ सेकेन्ड लामो सम्बोधनले एमालेको संस्थागत मर्यादामाथि नै प्रश्न उठाएको भन्दै शीर्ष नेताहरू रुष्ट बनेका छन्। उनले भदौ २३ र २४ को 'जेनजी आन्दोलन' लाई रास्वपाको अघोषित नेतृत्वमा भएको 'अवैधानिक' क्रियाकलाप भन्दै टिप्पणी गरेका थिए। 

बादलले चैत १३ गते वालेन्द्र साहले भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्रीको शपथ लिएको उल्लेख गर्दै एमालेको तर्फबाट बधाई दिएका थिए, जुन पार्टीको आधिकारिक नीतिसँग मेल नखाने नेताहरूको तर्क छ। उनले बालेन र रास्वपाको विजयमा नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की आयोग र बारबरा फाउन्डेसन जस्ता संस्थाहरूको 'निर्णायक भूमिका' रहेको भन्दै ती निकायहरूलाई राजनीतिक विवादमा तानेका छन्।

साथै बादलले राष्ट्रियताका नायकहरूलाई 'खलनायक र हत्यारा' बनाउन अदृश्य शक्ति, एआई र एल्गोरिदमको प्रयोग गरिएको दाबी गर्दै सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जलाउनुको उद्देश्यमाथि प्रश्न उठाएका थिए। उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरूले बादलको यो अभिव्यक्तिले पार्टीको छवि धुमिल बनाएको भन्दै आजको बैठकमा कडा प्रतिवाद गर्ने तयारी गरेका छन्।

बैठकको अर्को मुख्य एजेन्डा अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ हो। 'जेनजी आन्दोलन' का क्रममा दमन गरेको अभियोगमा उनीहरू पक्राउ परेपछि एमालेले यसलाई "राजनीतिक प्रतिशोध" ठहर गर्दै विनासर्त रिहाइको माग गरिसकेको छ। 

आजको बैठकले ओलीको रिहाइका लागि देशभर सञ्चालन गरिने विरोधका थप कार्यक्रमहरू र कानुनी उपचारका बाटाहरूबारे ठोस निर्णय लिनेछ। यसका अतिरिक्त सभामुखको निर्वाचन, आगामी विधायीकी विधेयकहरू र संसद्मा प्रतिपक्षीको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि सचिवालयले मार्गनिर्देशन तय गर्नेछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ