काठमाडौँ । देशभर आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फरक क्षमता भएका परीक्षार्थीहरूको पनि उल्लेखनीय सहभागिता देखिएको छ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माविका विद्यार्थीहरू बिहानै आफ्नो परीक्षा केन्द्र चामुण्डा माविमा पुगेका थिए । केही विद्यार्थी ह्वीलचेयरमा आएका थिए भने केहीले अरूको सहायतामा परीक्षा दिएका छन्।
ह्वीलचेयर तथा सहयोगमा परीक्षा दिनेहरूमा आलोक शाह, विनोद प्रसाद अधिकारी, अमर घले मगर र सुपन गुरुङ रहेका छन् ।
यस वर्ष खगेन्द्रका ४३ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् । प्रधानाध्यापक राघवप्रसाद दवाडीका अनुसार तीमध्ये ४ जना फरक क्षमता भएका विद्यार्थी छन् । उनीहरूका लागि कक्षाकोठा बाहिर विशेष व्यवस्था मिलाएर परीक्षा सञ्चालन गरिएको छ ।