अटेरी चिकित्सकलाई कारबाहीको तयारी, दुई दिनमा २१ को काज फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
1.7k
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटेरी चिकित्सकलाई कारबाहीको तयारी थालेको छ । मन्त्रालयले दुई दिनमै २१ चिकित्सकको काज फिर्ताको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयको मंगलबारको निर्णयानुसार दोस्रोपटक काज फिर्ताको लागि नवौँ र दशौँ तहका कर्मचारी/चिकित्सकहरूको नामावली विवरणसहित पत्र प्रकाशित गरिएको छ ।
मन्त्रालयले यसअघि चैत १६ गते चौध जना चिकित्सकको काज फिर्ता गरेको थियो । सुगममा काज मिलान गरी दरबन्दीमा जान राजनीतिक पहुँच र शक्तिको दुरुपयोग गर्दै आएका चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय ताकेतालाई कडाइका साथ अगाडि बढेको छ ।
१७ गतेको निर्णयानुसार काज फिर्ता गरिएका हाल कान्ति बाल अस्पताल महाराजगन्ज काठमाडौंमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिष्ट दशौं तहका डा. दिनेश शिवाकोटीलाई भेरी अस्पताल नेपालगन्जमा, भरतपुर अस्पताल चितवनमा कार्यरत कन्सल्टेन्ट इएनटी सर्जन नवौं तहका डा. चुनु दर्लानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौंमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट अब्स्ट्रेटिक्स तथा गाइनोक्लोजिष्ट दशौं तह डा. प्रमोद कट्टेललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा काज फिर्ता गरिएको हो ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा कार्यरत कन्सल्टेन्ट माइक्रो बायोलोजिष्ट नवौं तह डा. सोहनी बज्राचार्यलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत कन्सल्टेन्ट ओरल तथा म्याक्जिलो फेसियल सर्जन नवौं तह डा.श्याम किशोर चौधरीलाई भरतपुर अस्पताल चितवनमा, भरतपुर अस्पतालमा कार्यरत कन्सल्टेन्ट रेडियोलोजिष्ट नवौं तह डा. दिवस सापकोटालाई नारायणी अस्पतालमा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत कन्सल्टेन्ट डर्मालोजिष्ट नवौँ तहका डा. रञ्जु पोखरेललाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा काज फिर्ता गरिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले जनाएका छन् ।