एमाले संसदीय दलको बैठक च्यासलमा : बादल दलको नेता बन्ने निश्चित
सदन र सडक तताउने रणनीति
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
3k
Shares
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सडक संघर्षमा उत्रिएको एमालेको संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ। भोलि बिहीबार अपराह्न २ बजेका लागि आह्वान गरिएको संघीय संसद्को अधिवेशनको पूर्वसन्ध्यामा एमालेले आफ्नो संसदीय रणनीति तय गर्न यो बैठक बोलाएको हो।
पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेल दुवैले निर्वाचनमा पराजय भोगेपछि रिक्त रहेको संसदीय दलको नेता चयन प्रक्रिया यस बैठकको मुख्य एजेन्डा रहेको छ। २५ सिट जितेर संसद्को तेस्रो ठूलो दल बनेको एमालेमा वरिष्ठताका आधारमा उपाध्यक्ष रामबहादुर थापा 'बादल' दलको नेता बन्ने करिब निश्चित भएको छ। बैठकले दलको नेतासँगै प्रमुख सचेतक र अन्य संसदीय जिम्मेवारीहरूको पनि टुङ्गो लगाउने बताइएको छ।
बैठकले विशेषगरी अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै त्यसको 'राजनीतिक र कानुनी' दुवै रूपमा कडा प्रतिवाद गर्ने निर्णय गर्ने देखिएको छ। संसद्को भोलिको बैठकमा पार्टीले खेल्ने भूमिका र सरकारलाई घेर्ने रणनीतिका विषयमा सांसदहरूबीच छलफल भइरहेको छ। एमालेले यसअघि नै घोषणा गरिसकेको आन्दोलनका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन 'सदन र सडक' दुवैलाई तताउने एजेन्डामा बैठक केन्द्रित रहेको छ।