इरानविरुद्धको युद्धको भार अरब राष्ट्रहरूलाई बोकाउन ट्रम्प इच्छुक
छ दिनमै ११.३ अर्ब डलर खर्च
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
2.7k
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको आर्थिक खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्ने तयारी गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प यस विषयमा ‘निकै इच्छुक’ रहेको र क्षेत्रीय सुरक्षाको लाभ लिने राष्ट्रहरूले खर्चमा पनि साझेदारी गर्नुपर्ने आशय व्यक्त गरेकी छन्।
युद्धको खर्चबारे पेन्टागनका अधिकारीहरूले अमेरिकी कंग्रेसलाई दिएको पछिल्लो जानकारी अनुसार, इरानविरुद्धको सैन्य कारबाही सुरु भएको पहिलो छ दिनमै ट्रम्प प्रशासनले ११.३ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ। वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार यो विशाल रकममा युद्धका क्रममा भएको भौतिक क्षति र सैन्य सामग्रीको शोधभर्ना (रिप्लेसमेन्ट) खर्च समावेश गरिएको छैन।
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका लागि खर्चको निगरानी गरिरहेकी पूर्व पेन्टागन बजेट अधिकारी एलेन म्याककुस्करलाई उद्धृत गर्दै रिपोर्टमा जनाइए अनुसार, युद्धको पहिलो तीन हप्ताको औसत खर्च मात्रै करिब १.४ अर्बदेखि २.९ अर्ब डलरसम्म पुग्न सक्छ। अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति र आक्रमणलाई तीव्र बनाएसँगै आन्तरिक बजेटमा दबाब पर्न थालेपछि ट्रम्पले धनी अरब मुलुकहरूबाट वित्तीय सहयोग जुटाउने रणनीति अख्तियार गरेका हुन्।