हर्मुज जलमार्ग अवरुद्ध रहे पनि इरानविरुद्धको युद्ध रोक्ने ट्रम्पको सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
2k
Shares
काठमाडौँ । मध्यपूर्वमा जारी तनावबीच अमेरिकी प्रशासनले इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्ने सङ्केत दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूसँगको छलफलमा आगामी चारदेखि छ हप्ताभित्र सैन्य कारबाही रोक्न तयार रहेको बताए। हर्मुज जलडमरूमध्य अझै प्रभावकारी रूपमा अवरुद्ध रहेकै अवस्थामा यस्तो निर्णय आउनाले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ।
ट्रम्पले इरानको नौसैनिक र क्षेप्यास्त्र क्षमतामा उल्लेख्य क्षति पुर्याइसकेको दाबी गर्दै अब अमेरिका दीर्घकालीन समुद्री सैन्य अभियानमा नफस्ने बताए। प्रशासनका अधिकारीहरूका अनुसार अमेरिकाले आफ्ना मुख्य सैन्य लक्ष्यहरू पूरा गरिसकेको र अब विजय घोषणा गर्दै बाहिरिन सक्ने विश्वास ट्रम्पले राखेका छन्। ट्रम्पले होर्मुज बन्द हुनु मुख्यतः एसिया र युरोपका लागि टाउको दुखाइ भएको उल्लेख गर्दै उक्त जलमार्गबाट हुने ८४ प्रतिशत तेल निर्यात एसियाली बजारतर्फ जाने तथ्य औँल्याए। अमेरिका अब मध्यपूर्वीय ऊर्जामा निर्भर नरहेको धारणा उनले दोहोर्याए।
यद्यपि, जलडमरूमध्य अवरुद्ध रहँदा विश्व बजारमा गम्भीर असर देखिन थालेको छ। कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघिसकेको छ भने मललगायत आवश्यक वस्तुहरूको आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ। युद्ध अन्त्यको चर्चा चले पनि अमेरिकी सैन्य उपस्थिति भने घटेको छैन। युएसएस त्रिपोली र ३१औँ मरीन एक्सपिडिशनरी युनिट सोही क्षेत्रमा तैनाथ छन् भने थप १० हजार सैनिक पठाउने विषयमा पनि विचार भइरहेको छ।
यसैबीच, ट्रम्पले होर्मुज नखुलाए इरानको नागरिक ऊर्जा संरचनामा आक्रमण गर्न सकिने चेतावनी समेत दिए। ह्वाइट हाउसले भने कूटनीतिक वार्ताकै कारण हालै केही तेल ट्याङ्करहरू होर्मुजमार्फत आवागमन गर्न सफल भएको दाबी गरेको छ। प्रेस सचिव क्यारोलिन लेविटले इरानले २० वटा ट्याङ्करलाई मार्ग प्रयोग गर्न अनुमति दिनु सकारात्मक सङ्केत भएको र यो ट्रम्पको कूटनीतिक सक्रियताकै परिणाम भएको बताइन्।
उता, इरानले भने होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण बलियो बनाउन नयाँ योजना अघि सारेको छ। इरानी संसद्ले जहाजहरूबाट टोल (शुल्क) असुल गर्ने र विशेष गरी अमेरिका तथा इजरायलसँग सम्बन्धित जहाजहरूलाई प्रतिबन्ध लगाउने प्रस्ताव अनुमोदन गरेको छ। यसले विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्गमा आफ्नो सार्वभौम भूमिका सुदृढ बनाउने तेहरानको रणनीति स्पष्ट पारेको छ।