सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन, सीमा गस्ती बढाउन र तस्करी रोक्न 'हाई अलर्ट'
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
1.2k
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) राजु अर्यालसहितको उच्चस्तरीय टोलीबीच मंगलबार गृह मन्त्रालयमा महत्त्वपूर्ण छलफल भएको छ। बैठकमा विशेषगरी मुलुकको आन्तरिक सुरक्षा र प्राकृतिक विपद् व्यवस्थापनका विषयमा केन्द्रित रहेर रणनीति तय गरिएको छ।
छलफलको मुख्य एजेण्डा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी रहेको थियो। सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न स्रोत–साधनको उचित व्यवस्थापन, उद्धार टोलीको कार्यकुशलता र विभिन्न निकायहरूबीचको प्रभावकारी समन्वयमा जोड दिइएको छ। मनसुन वा अन्य प्राकृतिक प्रकोपका बेला हुनसक्ने जनधनको क्षति कम गर्न सशस्त्र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
यसैगरी, बैठकले सीमा सुरक्षा र सीमापार हुने अवैध गतिविधि नियन्त्रणका लागि गस्तीलाई थप कडा बनाउने निर्णय गरेको छ। सीमा क्षेत्रबाट हुने तस्करी र राजस्व चुहावट रोक्न सम्बन्धित युनिटहरूलाई कडा निर्देशन दिँदै शून्य सहनशीलताको नीति अपनाइने जानकारी गराइएको छ। सुरक्षा संयन्त्रलाई थप चुस्त र परिणाममुखी बनाउन गृहमन्त्री गुरुङले निर्देशन दिएका छन्।