arrow

सोमबारदेखि मलेखु–मुग्लिन सडक रातिमा छ घण्टा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
Naubise-malekhu.jpg
तस्बिर : फाइल

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड सोमबारदेखि तीन दिनसम्म राति छ घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ ।

सडक स्तरोन्नति भइरहेकाले यही चैत १९ गतेसम्मका लागि राति आवागमन बन्द गर्न लागिएको हो । मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ । 

पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने जनाइएको छ । सडक निर्माणलाई सुरक्षित र प्रभावकारी बनाउन सडक बन्द गरेर कामलाई तीव्रता दिन लागिएको सडक योजनाका सूचना अधिकारी सचिन मिश्रले जानकारी दिए ।

सडक बन्द रहेको समयमा यात्रुहरूलाई पर्नसक्ने असुविधा र थप जानकारीका लागि सडक योजनाका सूचना अधिकारी मिश्र (९८४९५४४६०७) र इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंह (९८५५०९०१२०) लाई सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ